सर्लाहीमा चल्यो गोली, प्रहरीले गोली हानी २ डाँका समायो


काठमाडौं – सर्लाहीमा प्रहरीले गोली चलाएर दुई जना डाँकालाई पक्राउ गरेको छ । लुटपाटमा आएकाहरुलाई नियन्त्रणमा लिएको तर भाग्न खोजेपछि प्रहरीले घुँडा र तिघ्रामा गोली हानेको हो ।

गोली लागेर भारत मोतिहारी घर भएका जितेन्द्र राउत घाइते भएका छन् । उनको मलंगवास्थित प्रादेशिक अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

सर्लाहीको बरहथवामा पक्राउ गरेर जिल्ला प्रहरी कार्यालयमा ल्याउँदै गर्दा प्रहरीको हतियार खोसेर भाग्न खोजेपछि प्रहरीले गोली चलाएको बताइएको छ ।

आरोपीहरूलाई पक्राउ गर्न प्रहरीले ५ राउन्ड गोली चलाएको थियो । सो मध्ये दुई राउन्ड गोली जितेन्द्रलाई लागेको हो । उनीहरुले बोकेको अमेरिकन पेस्तोल र ६ राउन्ड गोली प्रहरीले बरामद गरेको छ ।

मोटरसाइकलमा आएका दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएपछि भाग्न खोजेका थिए । राउतसँगै मोटरसाइकलमा सवार अर्का एक जनालाई पनि प्रहरीले पक्राउ गरेको छ ।

आरोपीहरूविरुद्ध भारतमा अपहरण र शरीर बन्धक कसुरमा करिब १ दर्जन मुद्दा विचाराधीन छ ।

प्रतिक्रिया