तारेभिरमा गाडिएकी सुष्माको हत्या अभियोगमा एक पक्राउ


काठमाडौं — सुष्मा लामाको हत्याको अभियोगमा एक जना पक्राउ परेका छन् । काठमाडौंको तारेभीरमा हत्यापछि शव गाडिएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले २१ वर्षीय रुपेन्द्र लामालाई पक्राउ गरेको हो ।

उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई पक्राउ गरेको हो । २५ फागुनमा शिवपुरी राष्ट्रिय निकुञ्जको जंगलमा गाडिएको अवस्थामा सुष्माको शव फेला परेको थियो ।

जंगलनजिकै घर भएकी लुच्ची तामाङकी छोरी १८ वर्षीया सुस्मा लामा २२ माघदेखि हराएकी थिइन् । गोकर्णेश्वर–३ का वडा सदस्य सचिन लामाका अनुसार, कलेज जान्छु भनेर हिँडेकी उनी घर नफर्किएपछि परिवारले २५ माघमा प्रहरी वृत्त, बौद्धमा खोजतलासका लागि निवेदन दिएको थियो ।

सुस्मा एक्कासी हराएपछि प्रहरीको सहयोग लिएर स्थानीयबासिन्दाले पनि खोजी गरिरहे । त्यहीबीच उनले विवाह गरेको विषय फेसबुकमार्फत सार्वजनिक भएको थियो ।

यसपछि खोजतलास पनि सुस्त भयो । तर, एक महिनासम्म पनि सम्पर्कमा नआएपछि परिवारले थप शंका गरिरहेको थियो । त्यहीबीच जंगलमा एउटा शव भेटिएको थियो ।

पछि त्यो शव सुस्माकै भएको पुष्टि भएको थियो । यसपछि प्रहरीले अनुसन्धान थालेको थियो ।

 

प्रतिक्रिया