
आईजी थापालाई सूचना पुग्यो, अनि खुल्यो बज्र सेक्युरिटीका कर्मचारी संलग्न सुन तस्करीको रहस्य
काठमाडौं– विमानस्थलमा खटिएका एयरलाईन्सका कर्मचारीबाटै सुन तस्करी भइरहेको रहस्य खुलासा भएको छ । गत बिहीवार ९ बजे र ५१ मिनेटमा दुबईबाट आएको नेपाल एयरलाईन्सको आरए २३०को फ्लाईटबाट अवैध रुपमा भित्रिएको ६ सय ग्राम सुन तस्करीमा एयरलाईन्सका कर्मचारीकै हात रहेको खुलेको हो।
नेपाल एयरलाईन्सले करारमा राखेको बज्र सेक्युरीटिका कर्मचारीले अवैध सुन तस्करीमा सहयोग पुर्याउँदै आएको खुलासा भएको हो। बज्र सेक्युरिटीका अध्यक्ष नेपाल प्रहरीका पूर्व एसएसपी यादवराज खनाल हुन् ।
बिहीवार ९ बजे र ५१ मिनेटमा ल्याण्ड भएको उक्त आरएको जहाजको ढोकामै गएर बज्रका सुजन सिम्खडाले सुन लिएका थिए। दुबईबाट चितवनका सुजन परियारले उक्त परिमाणको सुन बोकेर काडमाडांै अवतरण गरेका थिए ।
जहाजबाट झरेर बस चढेका परिवारसँग ब्रजका सिम्खडाले बसमै गएर ‘तपाई हो सामान ल्याउने?’ भन्दै सामान लिएर डोमेस्टिकबाट बाहिरीएका थिए। बाहिर निस्केर सिम्खडाले सामान कसलाई दिए खुलासा भएको छैन। तर प्रहरीले सामान क्यारिङ गर्ने परियार, सामान लिने बज्र सेक्युरीटिका सिम्खडा र परियारलाई क्यारिङको पैसा दिने धादिङका सुरेन्द्र श्रेष्ठलाई पक्राउ गरी गौशाला वृत्तमा राखी थप अनुसन्धान गरी राखेको बताएको छ।
यसरी भयो अनुसन्धान
नेपाल प्रहरीका महानिरिक्षक (आईजी) शैलेश थापा क्षेत्रीलाई केही मात्रमा तस्करीको सुन आरए २३० बाट नेपाल भित्रिदै छ भन्ने खबर आएको थियो। खबरअनुसार आईजी सचिवालयले विमानस्थल प्रहरीलाई सुन क्यारिङ गर्ने व्यक्तिको हुलिया सहित जानकारी गराएको थियो।
सचिवालयको जानकारी अनुसार उक्त जहाज ल्यान्डिङको प्रतिक्षामा थियो, प्रहरी। जाहज ल्याण्ड भो, क्यारिङ गर्ने परियारलाई प्रहरीले भन्सार क्षेत्रदेखि पछ्याउन थाल्यो। प्रहरी भन्सारले के गर्छ भन्नेमा थियो। भन्सार चेकजाँच पास गरी परियार बाहिर निस्किए तर भन्सारमा चेकजाँचमा सुन फेला परेन। प्रहरीले नियन्त्रणमा लिई खानतलासि सुरु गर्यो । सुन भेटिएन तर ६ सय ग्राम सुन खरिद गरिएको बिल फेला पर्यो।
बिलको सुन खै भन्दै प्रहरीले केरकार गर्दा परियारले बल्ल एक जना सुरक्षाकर्मीले विमानस्थल भित्र गाडीबाटै लिएको खुलासा गरे। उक्त व्यक्ति को थिए? प्रहरीलाई पत्ता लगाउन कठिन भयो।
तर सिसिटिभीको फुटेजबाट परियारलाई गाडी भेट्ने व्यक्ति ब्रज सेक्युरिटीकोे कर्मचारी भएको खुल्यो। सिसिटिभि पन्छाउँदै आउँदा बज्रका सिम्खडाले डोमेस्टिकको गेट प्रयोग गरी बाहिर निस्केको खुल्यो। यसरी विमानस्थलमा राखिएका करारका कर्मचारीकै मिलोमतोमा सुन तस्करी हुँदै आएको अर्को तथ्य पुष्टि भयो।
कर्मचारी नै तस्करीमा
नेपालमा अब सुन तस्करीका घटना सामान्य जस्तो बनाउन थालिएको छ। अवैध सुनको ओसारपसारमा व्यक्ति पक्राउ र सार्वजनिक सामान्य हुन थालेका हुन्।
नेपालको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थलबाट दैनिक जसो सुन ओसार पसार भईरहेका छन्। केही मात्रमा सुन बरामद गर्न प्रहरी सक्षम भए पनि पूर्ण रुपमा सुन तस्करीमा रोक लगाउन भने सकेको छैन।
दुई बर्ष अगाडि ९ माघमा दुबईबाट तस्करी गरी नेपाल भित्राईएको भनिएको ३३ किलो सुन र उक्त सुनसँग जोडिएका सनम शाक्य हत्या प्रकरणले सुन तस्करीको झाँगिएको जालोको चिरफार गर्न सरकार सक्षम भए पनि उक्त सुन आजसम्म भेटिएको भने छैन।
२० चैत २०७४ को मन्त्रिपरिषद् बैठकले गृह मन्त्रालयका सह–सचिव ईश्वरीराज पौडेलको संयोजकत्वमा अनुसन्धान गर्न ९ सदस्यीय समिति गठन गरेको थियो।
समितिले सुन तस्करीमा उच्च प्रहरी अधिकारीहरूको संलग्नता पुष्टि गर्दै मुद्दा अभियोजन गरे पनि सुन बरामद नभएकै कारण मुद्दा फितलो हुन पुगेको हो। सोही मुद्दा आज पनि अदालतमा विचाराधिन अवस्थामा छ। केही प्रहरीका अधिकारी साधारण तारेखमा छन भने केही मुद्दा पुपक्षका लागि थुनामा नै छन्। तर आज पनि विमानस्थलबाट सेटिङमै सुनको तस्करी भईरहेको खुलासा भएको छ।



कागजपत्र |
