

भक्तपुरमा बस र मोटरसाइकल ठोक्कियो, धुलिखेलका तिमल्सिनाको मृत्यु

भक्तपुर – भक्तपुरमा बस र मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ।
शनिबार बेलुकी सवा ६ बजे सुर्यविनायक नगरपालिका-१० पलासेमा बा २ ख ९४५४ नम्बरको बस र बा ७८ प ३१५५ नम्बरको मोटरसाइकल आपसमा ठोक्किएर दुर्घटना भएको थियो।
भक्तपुरका डिएसपी बसन्त पाठकका अनुसार दुर्घटनापछि मोटरसाइकल चालक काभ्रेको धुलिखेल नगरपालिका-७ का ५४ वर्षीय मुकुन्द प्रसाद तिमल्सिना गम्भीर घाइते भएका थिए।
उनलाई उपचारका लागि मध्यपुर अस्पताल लगिएकोमा साढे ८ बजे मृत्यु भएको डिएसपी पाठकले जानकारी दिए।
दुर्घटनापछि बसका चालक दोलखाको भीमेश्वर नगरपालिका-७ घर भई हाल काभ्रे बस्ने ३५ वर्षीय देहेन्द्र सिंह बस्नेतलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान भइरहेको डिएसपी पाठकले बताए।

