अन्ततः विप्लव मेरै बाटोमा आउनुभयो, उहाँलाई धन्यवाद भन्न चाहन्छु : प्रचण्ड


काठमाडौं – नेकपा प्रचण्ड-माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी शान्तिपूर्ण राजनीतिमा आएकोमा खुसी व्यक्त गरेका छन् ।

शनिबार पेरिसडाडाँमा आयोजित पार्टी समायोजन तथा पार्टी प्रवेश कार्यक्रममा बोल्दै प्रचण्डले नेत्रविक्रम चन्द नेतृत्वको नेकपा शान्तिपूर्ण राजनीतिमा आएकोमा खुसी व्यक्त गर्दै विप्लवलाई पार्टीमा स्वागत गर्न आफुहरु आतुर रहेको बताएका हुन् ।

‘क्रान्तिको एउटा प्रक्रियामा दुई वटा प्रचण्ड हुँदैनन् । अन्ततः विप्लव मेरै बाटोमा आइपुग्नु भएको छ । उहाँलाई म धन्यवाद भन्न चाहन्छु’ उनले भने, ‘मैले उहाँलाई जति बुझेको छु, चिनेको छु । छिट्टै उहाँलाई आफ्नो पार्टीमा स्वागत गर्न पाइन्छ भन्ने प्रतिक्षामा छु ।

त्यस्तै प्रचण्डले कम्युनिष्टहरू राम्रा भएपनि प्रधानमन्त्री केपी शर्मा ओली कुहिएको अण्डा भएको टिप्पणी गरे । ‘कम्युनिष्टहरू राम्रा हुन्छन् तर गन्हाउन थाले, बिग्रिन थाले र कुहियो भने त्यो भन्दा नराम्रो केही पनि हुँदैन,’ उनले भने, ‘अण्डा स्वास्थ्यका लागि राम्रो हुन्छ तर कुहियो भने त्योभन्दा गन्धा चिज केही पनि हुँदैन । अहिलेको परिस्थितिमा केपी ओली कुहिएको अण्डा हो ।’

 

प्रतिक्रिया