

सुदूरपश्चिम प्रादेशिक महोत्सवमा नक्कली टिकट बिक्री गर्ने ४ जना पक्राउ

काठमाडौं : कैलालीको अत्तरियामा आयोजना भएको सुदूरपश्चिम प्रादेशिक महोत्सवमा नक्कली टिकट बिक्री गरेको आरोपमा चारजना पक्राउ परेका छन्।
उद्योग वाणिज्य संघले आयोजना गरेको महोत्सवमा नक्कली टिकट बिक्री गरेर आर्थिक हिनामिना गरेको आरोपमा संघका महासचिव शंकर खड्का, सचिव दिलीपकुमार साउँद, सदस्य बमबहादुर बोगटी र भुवन महराले शुक्रबार प्रहरीसमक्ष आत्मसमर्पण गरेका हुन्।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता डीएसपी कुलदीप चन्दले पक्राउ पुर्जी जारी भएका चारजना आफैँ प्रहरीमा हाजिर हुन आएको जानकारी दिए। उनीहरूलाई हिरासतमा राखेर थप अनुसन्धानको प्रक्रिया अघि बढाएको उनको भनाइ छ।
गत पुस २६ देखि सुरु भएको प्रादेशिक महोत्सवमा नक्कली ठेली छपाएर टिकटमा प्रयोग गरी आर्थिक अनियमितता गरेको भन्दै संघले सुरुमा छानबिनको माग गर्दै जिल्ला प्रशासन कार्यालय कैलालीमा निवेदन दिएको थियो । प्रशासनको निर्देशनपछि छानविन प्रक्रिया अघि बढेको हो।

