

वृद्धाको हत्या आरोपमा एकजना पक्राउ

संखुवासभा – खाँदबारी नगरपालिका-९ तुम्लिङटार की ६२ वर्षीया दिलकुमारी घिमिरे हत्यामा संलग्न भएको आरोपमा एकजना पक्राउ परेका छन्।
वृद्धाको हत्यामा संलग्न भएको आरोपमा सुनसरीको धरानका दिपेन भन्ने आकाश राईलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी नायब उपरीक्षक घनश्याम श्रेष्ठ जानकारी दिए। हत्यालगत्तै फरार रहेका राईलाई प्रहरीले एक सातापछि धरानबाट पक्राउ गरेको हो।
राईले सुनको गरगहना लुट्न वृद्धाको हत्या गरेको खुलेको प्रहरी नायब उपरीक्षक श्रेष्ठले बताए। आरोपित राईले वृद्धाको हत्यापछि गुनको गरगहना धनकुटा पाख्रीवास नगरपालिका –४ बुद्धचोक स्थित रूपकला ज्वेलर्समा ४७ हजार रुपैयाँ बिक्री गरेका थिए।
माघ ६ गते शनिबार बिहान ७ बजे घर नजिकै दाउँरा काट्न गएकी घिमिरेको शव रुखको जराले किचिएको रहस्यमय अवस्थामा फेला परेको थियो। उनले बञ्चरो प्रहार गरी वृद्धाको हत्या गरेको प्रहरीको भनाइ छ। घटनाबारे जिल्ला अदालत संखुवासभाबाट म्याद गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

