

नागरिकता हराएपछि जेल जानुपर्ने अवस्था कसरी आउँछ ? सन्तोषलाई सोध्नुहोस्

काठमाडौं– धनुषाको बटेश्वर गाउँपालिका शान्तिपुर–५ का सन्तोषसिंह दनुवार एम्बुलेन्स चलाएर गुजारा चलाउने सामान्य व्यक्ति हुन् । त्यहिँ काम गरेर नेपालमा आफ्नो भविष्य नबन्ने ठानेपछि उनी वैदेशिक रोजगारीमा जाने निर्णयमा पुगे ।
त्यसपछि उनले आफ्नो पासपोर्ट र नागरिकता एक एजेन्टलाई बुझाएका थिए । तर, ती एजेन्टले उनको नागरिकता डेढ वर्षअघि हराइदिए ।
त्यसपछि उनी नागरिकताको प्रतिलिपी लिने प्रक्रियामा गएका थिए । तर त्यसअघि उनको नागरिकताबाट कसैले मुक्तिनाथ विकास बैंक ठिमी भक्तपुरमा बैंक खाता खोल्यो । उसले नक्कली खाता मात्रै खोलेन, बैंकले दिएको चेक प्रयोग गरेर विभिन्न ठगीसमेत गर्यो ।
रकम नै नभएको खाताको चेक पाएपछि एक पीडितले खातावाला सन्तोष सिंह दनुवारविरुद्ध प्रहरीमा चेक बाउन्सको जाहेरी दिएका थिए । उनीमाथि विकन श्रेष्ठले रकम नभएको खाताबाट चेकमा भुक्तानी गरेको अभियोग लगाएका थिए ।
चेक अनादरको जाहेरीपछि प्रहरीले मुद्धा दर्ता गरेर प्रक्रिया अगाडि बढायो । त्यसपछि उच्च अदालत पाटनले भदौं ६ गते दनुवारविरुद्ध पक्राउ पूर्जी जारी गरेको थियो । त्यसपछि मात्रै सन्तोषले आफ्ना हराएको नागरिकताका कारण आफू फसेको मेसो पाएका थिए । पाटन उच्च अदालतले उनलाई २ लाख २५ हजार रुपैयाँ जरिवाना र एक दिन जेल सजायको फैसला गरेको थियो ।
उक्त आदेशपछि काठमाडौं आएका सन्तोष अहिले पीडामा छन् । गल्ती नै नगरेको मुद्धा आफूलाई लागेपछि उनलाई रुनु न हास्नु भएको छ । ‘मुक्तिनाथ बैंकमा गएर कसैले मेरो नागरिकताबाट खाता खोलियो । बैंकले चेक दियो । पछि ती व्यक्तिले एक मदिरा पसलबाट मदिरा किनेर खातामा रकम नभएको उक्त चेक दिएका रहेछन् । अनि ती व्यापारीले मेराविरुद्ध जाहेरी दिए’ सन्तोष भन्छन् , ‘अचम्म के छ भने मेरो नागरिकताबाट खाता खोल्दा फोटो अर्कैको राखिएको छ ।’
उनको भनाईमा बैंकले फरक फोटो, फरक व्यक्ति, नक्कली औंठाछाप र नक्कली हस्ताक्षर प्रयोग गरेका व्यक्तिलाई सही मानेर बैंक खाता खोलिदिएको थियो । ती व्यक्ति को हुन् भनेर बताउन नसक्ने बैंकमाथि नै प्रश्न चिह्न खडा भएको सन्तोषको आरोप छ ।
खाता खोल्दा कुनै जाँचबुझ नगर्ने बैंक र चेक दुरुपयोग गने ती अज्ञात व्यक्तिले आफ्नो जीवन बर्बाद गरिदिएको सन्तोषको गुनासो छ । उता सन्तोषविरुद्ध चेक अनादरमा जाहेरी दिने विकन श्रेष्ठले भने चेक दिने सक्कली सन्तोष नभएको प्रष्ट पारेका छन् । ‘मदिरा किनेपछि मलाई चेक दिने उहाँ हैन । अरुले नै मबाट मदिरा खरिद गरेर चेक दिएका थिए । उनी पसल बन्द गरेर भागिसकेका छन् । सन्तोष पीडित छन्’ उनले भने ।
बैंकले पनि सक्कली नागरिकता बोकेर आएपछि खाता खोलिएको प्रष्टिकरण दिएको छ । सक्कली नागरिकता बोकेर आइसकेपछि खाता खोलिएको र फोटो पनि उस्ताउस्तै भएको बैंकले बताएको छ । तर अहिले आएर वास्तविक सन्तोष अर्कै भएको कुरामा बैंक विश्वस्त भएको छ ।
अदालतले दिएको तामेली मितिमा सन्तोष उपस्थित भएर प्रमाण पेश गरिसकेका छन् । तर बैंकले भने आफूलाई मतलब नभएको र अर्को दिन आउनु भन्दै फर्काइदिने गरेको गुनासो उनको छ ।

