

छानबिन समितिको निष्कर्ष: घले समूहले १३८ किलो सुन तस्करी गरिसकेकाे छ

काठमाडौं- त्रिभुवन विमानस्थल भन्सार कार्यालयको छानबिन समितिले मीनबहादुर घले र उनको समूहले १३८ किलो सुन तस्करी गरेको निष्कर्ष निकालेको छ । त्याेमध्ये पछिल्लो पटक १४ किलो सुन भन्सार कार्यालयले बरामद गरेको छ ।
त्रिभुवन विमानस्थल भन्सार कार्यालयबाट केही साताअघि १४ केजी सुनसहित चन्द्रबहादुर घले पक्राउ परेका थिए । त्यसपछि छानबिन समिति गठन भएको थियो । छानबिन समितिले उक्त निष्कर्ष निकाल्दै प्रतिवेदन बुझाएको हाे ।
समितिका अनुसार मीनबहादुर घलेले दुबईमा बस्ने गरेका भारतीय नागरिकसँग मिलेर सुन तस्करी गर्ने गरेका थिए । मीनबहादुर स्वयं, चन्द्र र कृष्णकुमार श्रेष्ठले भरिया बनेर सुन ल्याउने गरेको पाइएको छ ।
एयरपोर्टबाट सुन निकाल्न नागरिक उड्ययन कार्यालय, गौचरका एसी मेकानिक राधाकृष्ण श्रेष्ठ, कार्यालय सहयोगी लेकबहादुर तामाङ, करारका पूर्व कर्मचारी रमेश देउला, एसी शाखामा काम गर्ने कार्यालय सहयोगी अनिल श्रेष्ठ र प्लम्बर शेरबहादुर बस्नेतले भूमिका खेलेको समितिको निष्कर्ष छ ।

