

१६ किलो गाँजासहित ललितपुरबाट ३ जना पक्राउ

ललितपुर – ललितपुरबाट प्रहरीले गाँजासहित तीन जनालाई पक्राउ गरेको छ।
महालक्ष्मी नगरपालिका–८ लुभुबाट आइतबार करिब १६ किलो गाँजासहित तीन जनालाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर ललितपुरका प्रहरी उपरीक्षक नवराज कार्कीले जानकारी दिए।
पक्राउ पर्नेमा ५३ वर्षीय वीरेन्द्र श्रेष्ठ, ५४ वर्षीय सुरेन्द्र श्रेष्ठ र ४६ वर्षीय वीरेन्द्र श्रेष्ठ रहेको पनि कार्कीले जनाए ।
उक्त घरमा गाँजा लुकाएर राखेको भन्ने सूचनाको आधारमा प्रहरी प्रभाग लुभुका इन्चार्ज प्रहरी नायब निरीक्षक सन्तोषकुमार बुढाथोकीसहितको टोली घटनास्थलमा पुगेको थियो।
प्रहरी वृत्त सातदोबाटोबाट प्रहरी निरीक्षक र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोली पनि घटनास्थलमा पुगेको जनाइएको छ ।
उनीहरूमाथि थप अनुसन्धान गर्न प्रहरी वृत्त सातदोबाटो पठाएको छ।

