

अवैध रुपमा रुसी सेनामा भर्ना गराउने १ महिलासहित १२ जना सार्वजनिक

काठमाडौं — काठमाडौं जिल्ला प्रहरी परिसरले अवैध रुपमा नेपाली नागरिकलाई रुस पठाएर सेनामा भर्ना गराएको आरोपमा पक्राउ परेका १२ जनालाई सार्वजनिक गरेको छ ।
पक्राउ पर्नेहरुमा द्रोण डाँगी, दिपेन परियार, क्षितिज गिरी, सुभाष लामा, मनिष न्यौपाने, रोजल महर्जन, हरिबहादुर विश्वकर्मा, ईश्वर अधिकारी, गोकर्ण अर्याल, सुजाता दाहाल, सन्तोष रोक्का र सन्तोष नेपाल रहेका छन्।
उनीहरुलाई बुधबार जिल्ला प्रहरी परिसर काठमाडौंले सार्वजनिक गरेको हो। परराष्ट्र मन्त्रालयले रुसी सेनामा भर्ना भएका ६ नेपाली नागरिक मारिएको पुष्टि गर्दै विवरण सार्वजनिक गरेपछि प्रहरीले रुस पठाउने गिरोहमाथि एक्सन लिएको थियो।
उनीहरु सबैलाई हिरासतमा राखेर अनुसन्धान प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
गिरोहले रुसी सेनामा भर्ना हुन नेपालीहरुलाई अवैध तरिकाले भिजिट भिसामा रुस पठाउने गरेको पाइएको प्रहरीले जनाएको छ।
रुस पठाउने गिरोहको कार्यालयबाट प्रहरीले नगदसहित विभिन्न कागजपत्रहरु बरामद गरेको छ।

