इलामकाे मानेभञ्ज्याङमा बिओपी, हाेला त प्रभावकारी?


फिक्कल – इलामको सूर्योदय नगरपालिका १ को भारतीय सीमावर्ती क्षेत्र माने भञ्ज्याङमा सशस्त्र प्रहरी बल नेपालको सातौ बोर्डर आउट पोष्ट(बिओपी) स्थापना भएको छ । सीमा सुरक्षामा सशस्त्र प्रहरी बल नेपालको बलियो उपस्थिति जनाउने उद्देश्यका साथ शनिबार इलामका सीमावर्ती क्षेत्रमा बीओपी स्थापना गर्ने अभियान अन्तर्गत सातौ बिओपीको स्थापना गरिएको हो ।

सीमावर्ती क्षेत्रको बीओपी सूर्योदय नगरपालिकाका नगर प्रमुख रण बहादुर राई र सशस्त्र प्रहरी बल नेपाल, नम्बर १ बराह वाहिनी सशस्त्र प्रहरी नायव महानिरीक्षक वंशीराज दहालले संयुक्त रुपमा उद्घाटन गरे । नगर प्रमुख राईले बीओपी उद्घाटन गर्दै स्थापना भएका बीओपीलाई व्यवस्थित , प्रविधिमैत्री, सवल, सुदृढ बनाउन जरूरी रहेको बताए ।

नगर प्रमुख राईले नेपालको भूमि प्रयोग गरी आवातजावात गर्न सक्ने यायायातका साधन र सडक निर्माणमा स्थानीय, प्रदेश र संघीय सरकारले ध्यान दिन नसके प्रहरीको मनोवललाई उच्च राखी काम गर्न सकिन्छ या सकिन्दैन भन्ने बारेमा सोच्न जरूरी रहेको चिन्ता ब्यक्त गरे। बीओपी स्थापनाले नगरपालिकाको निम्ति मात्रै हैन सिंगो राष्ट्रको हितको निम्ति महत्वपूर्ण भूमिका खेल्नेछ ।’ उनले भने ‘सीमा सुरक्षामा राष्ट्रको उपस्थिति भयो अव दिगो शान्ति, सुशासन कायम र मानवीय सुरक्षाको प्रत्याभूति हुनेछ ‘

सशस्त्र प्रहरी बल नेपाल, नम्बर १ बराह वाहिनी सशस्त्र प्रहरी नायव महानिरीक्षक वंशीराज दहालले बीओपी स्थापना भए पछि सीमा क्षेत्रको सुरक्षा संगै सीमानाबाट हुने अवैध गतिविधि नियन्त्रण हुने बताए । इलामको रोङ गाउँपालिकाको मेची किनार देखि सन्दकपर गाउँपालिकाको सन्दकपुर डाँडा सम्मको ५२ किलो मिटरको सीमा क्षेत्रका ७ स्थानमा बीओपी स्थापना गरिएको शसस्त्र प्रहरी नम्बर १ हेडक्वाटर श्रीअन्तु गण इलामका प्रहरी उपरीक्षक सुधिरजंग थापाले जानकारी दिए

सलकपुर , समालबुङ, छब्बीसे , पशुपतिनगर, मानेभञ्ज्याङ, जौबारी र कालपोखरीमा बीओपी स्थापना भइसकेको छ । आगामी दिनमा रोडको माथिल्लो पाटापुर, सूर्योदयको सुङतुङ,खोला गोदाम, हिले ,चित्रेगुम्बा, माईजोगमाइको मेग्मा , सन्दकपुरको गैरीबास र आलटारमा बीओपी राख्नका लागि पहल भैरहेको छ । मानेभञ्ज्याङमा सशस्त्र प्रहरी नायब निरीक्षक एकराज श्रेष्ठको कमाण्डमा काम भइरहेको छ ।

इलामका सीमावर्ती क्षेत्रमा बीओपी राख्नका लागि शसस्त्र प्रहरी इलामका प्रहरी एसपी सुधीरजंग थापा र पशुपतिनगर बीओपीका इन्सपेक्टर नविन खतिवडाले जमिन खोज्ने , स्थानीय संग समन्वय गर्ने काम गरेका थिए। छोटै समयमा भारतीय सीमा क्षेत्रका सात स्थानमा बीओपी राखी सकिएको छ । पछिल्लो समय शसस्त्र प्रहरीले भारतीय सीमा सुरक्षाबल एसएसबी संग समेत सम्बन्ध सुधार सहित समन्वयमा काम गर्दै आएको छ ।

प्रतिक्रिया