

काभ्रेमा प्रहरीलाई एक हजार घुस दिन खोज्ने सानुकान्छा पक्राउ

काभ्रे– जिल्ला प्रहरी कार्यालय काभ्रेले सवारी चेकजाँचको क्रममा घुस दिन खोज्ने एक जनालाई पक्राउ गरेको छ ।
प्रहरीले काभ्रेभन्ज्याङबाट काभ्रेको रोशी गाउँपालिका–८ बस्ने ५९ वर्षका सानुकान्छा तामाङलाई उनले चलाएको स्कुटरसहित नियन्त्रणमा लिएको हो ।
सोमबार बिहान साढे ८ बजे अस्थायी प्रहरी पोष्ट ट्राफिक प्रहरी सहितको संयुक्त चेकिङको क्रममा तामाङ पक्राउ परेका हुन् ।
बाप्र०२–०३७ प ०९९७ नम्बरको स्कुटरमा धुलिखेलबाट भकुण्डेतर्फ जाँदै गरेका तामाङलाई प्रहरीले सवारी चालक अनुमति पत्र मागेको थियो । सो क्रममा उनले ‘मेरो लाईसेन्स यो हो भनि बिलबुकभित्र एक हजार राखेर दिन खोजेका थिए ।
उनलाई पक्राउ गरेर थप अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

