


‘वनएक्स बेट’को प्रचारमा अर्बपति सांसद चौधरीकी बुहारी !
प्रहरीले लेला त 'एक्सन' ?

काठमाडौं – शुक्रबारदेखि सुरु भएको नेपाल सुपर लिग (एनएसएल) मा अप्रत्यक्ष रुपमा नेपालमा अवैध मानिएको अनलाइन जुवा खेलाउने ‘वनएक्स बेट’ को प्रचार देखिएको छ ।
जारी एनएसएलमा ‘वनएक्स न्यूज’को नाउँमा ‘वनएक्स बेट’ अप्रत्यक्ष प्रचार–प्रसार गरिएको छ । नेपाल स्पोर्टस् एण्ड इभेन्ट म्यानेजमेन्टद्वारा आयोजित नेपाल सुपर लिगमा मिडिया पार्टनरको रुपमा ‘वनएक्स न्यूज’लाई समेटिएपछि ‘वनएक्स बेट’को प्रवर्द्धन गरिएको पुष्टी भएको हो ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं अर्बपति सांसद विनोद चौधरीकी बुहारी अध्यक्ष रहेको नेपाल स्पोर्टस् एण्ड इभेन्ट म्यानेजमेन्टले एनएसएल आयोजना गरेको हो ।
निर्वाण चौधरीकी पत्नी आश्रयता कार्की चौधरीको कम्पनीले आयोजना गरेको प्रतियोगिताको पोष्ट म्याच प्रिजिन्टेसनको बोर्डमा पनि ‘वनएक्स न्यूज’ लाई प्राथमिकताका साथ प्रयोग गरेको छ । तर उक्त साइट खोल्दा सिधै ‘वनएक्स बेट’ कै साइट खुल्दछ, जसले गर्दा पनि चौधरी पत्नी आश्रयता नेतृत्वको कम्पनीले ‘वनएक्स बेट’को प्रवद्र्धन गरेको पुष्टी भएको छ ।
देशका सेलिब्रेटी मानिएका कलाकाको भिडियोमा लोगो प्रयोग भए बापत सुटिङस्थलदेखि नै पक्राउ गरेर थुनामा राखेको प्रहरीले उक्त अवैध अनलाइन जुवालाई प्रश्रय दिने गरि प्रचारात्मक शैलीको प्रतियोगिता सुरु भएको ४ दिनसम्म पनि मौन रहनु आश्रयताको पारिवारिक पहुँचकै कारण त होइन भन्ने प्रश्न उठेको छ ।
पछिल्ला समयमा युट्युबरहरुले ‘वनएक्स बेट’को नाम लिनमात्र होइन् सम्झन नै नचाहिरहेको बेला ससुराको शक्तिकै आडमा आश्रयताले किन प्रचार गरिन् त्यो खोजीकै विषय रहेको छ ।
नेपाल प्रहरीले पनि घराना र ठूला मानिसहरुले अनलाइन जुवाको प्रचार गर्दा के गर्ने भन्नेमा अलमलमै परेको देखिएको छ । नत आश्रयताको कम्पनीको वेभसाइटमा कतै मिडिया पार्टनर भनेर लेखिएको छ न त ‘वनएक्स बेट’को साइटमा नेपालमा उक्त प्रतियोगिता हुँदछ भनेर लेखिएको छ । तर, मैदान र मञ्चमा भने ‘वनएक्स बेट’को अप्रत्यक्ष प्रचार गर्न भने छाडिएको छैन ।
गत जेठमा युट्युवमा ‘वनएक्स बेट’को प्रचारप्रसार गरेबापत कतिपय कलाकारहरु पक्राउ परेका थिए भने कतिपय अप्रत्यक्षरुपमा देशबाहिर गएका थिए । नेपाल प्रहरीले युट्युबमा लोगो राखेकै भरमा ‘एक्सन’ लिएको थियो ।
यदि आश्रयता नेतृत्वको कम्पनीले प्रयोग गरिरहेको ‘वनएक्स न्यूज’ र ‘वनएक्स बेट’बीच रहेको सम्बन्धलाई प्रहरीले अनुसन्धान गरि देशका गहना मानिएका कलाकारलाई मात्रै होइन, मुलुक हाँक्छु भनेर पैसाकै भरमा राजनीतिमा लागेकाको परिवारलाई पनि अनुसन्धानको दायरामा ल्याएर छानबिन गर्नुपर्ने होइन र ?
‘वनएक्स न्यूज’को साइटमा ‘वनएक्स बेट’को एप डाउनलोड गर्नका लागि छुट्टै क्याटेगोरी बनाएर राखिएको छ, जसका कारण फुटबलको आयोजनाको आडमा ‘वनएक्स बेट’को प्रचारमा आयोजक जुटेका छन् । रंगशालामा लिगको उपाधि र एनएसएलका निर्देशक श्रेयान्स कार्कीकै शब्दमा बिजेता हुने टिमले कम्तिमा ७० लाखदेखि बढीमा १ करोडसम्म पुरस्कारका लागि भिडिरहेका विभिन्न ९ क्लबका खेलाडीहरु भन्दा नेपाल प्रहरी अनुसन्धानमा भिड्नुपर्ने देखिएको छ । प्रतियोगित यही पुस १४ सम्म चल्ने जनाइएको छ भने कुल ४० खेल हुनेछन् ।

