


राजनीतिक दलहरू सचेत हुन आवश्यकः नेता सिंह

काठमाडौं – नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले लामो संघर्ष र आन्दोलनबाट प्राप्त भएको व्यवस्थालाई संस्थागत गर्न सबै राजनीतिक दलहरु सचेत हुन आवश्यक रहेको बताउनुभएको छ।
बुधवार शंखधर साख्वा दिवस विशेष कार्यक्रमलाई सम्बोधन गर्दै कांग्रेस नेता सिंहले सबै मिलेर आन्दोलनबाट ल्याएको व्यवस्थालाई सुरक्षित गर्न सबै एक ठाउँमा आउनुपर्ने बताए।
नेता सिंहले २०१७ सालमा गुमेको अधिकार प्राप्त गर्न ३० वर्ष लामो संघर्ष गर्नुपरेको विषयलाई राजनीतिक दलले बिर्सन नहुने बताए।
उनले २०४६ सालमा गणेशमान सिंहको नेतृत्वमा सबै पार्टीको कार्यगत एकताका आधारमा आन्दोलन गरी गुमेको अधिकार प्राप्त गरेको सम्झना सबैलाई रहेको उल्लेख गरे। उनले कसैले कुनै ठाउँबाट कुनै आवाज निकाल्यो भन्दैमा डराउन नहुने बताए।
उनले २०६३ को जनआन्दोलनपछि दुई वटा संविधानसभाको निर्वाचन गरेर प्राप्त गरेको संघीय लोकतान्त्रिक गणतान्त्रत्मक समावेशी संविधानलाई सुरक्षित राख्दै संविधानको भावना र मर्मलाई कार्यान्वयन गर्न सरकारले आवश्यक संघीय कानूनहरु निर्माण गरी अधिकार दिलाउने काम गर्नुपर्नेमा जोड दिए।

