प्रहरीकै जग्गा हत्याउन खोज्ने मालपोतका पूर्वकर्मचारी बस्नेत बनेपाबाट पक्राउ


काठमाडौं — प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले प्रहरीको ३६ रोपनी जग्गा हत्याउन खोज्ने एक जना पूर्वकर्मचारी परेका छन् ।

सरकारले २०५२ सालमा नै प्रहरीलाई भोगचलनका लागि दिएको ३६ रोपनी जग्गा हत्याउन खोजेको अभियोगमा सिआईबीको टोलीले काभ्रे पनौतीका ६४ वर्षीय पुष्करबहादुर बस्नेतलाई मंगलबार पक्राउ गरेको हो । उनले काभ्रेको पनौतीमा निर्माणाधीन राष्ट्रिय प्रशिक्षण प्रतिष्ठानको जग्गा हिनामिनाको प्रयास गरेका हुन् ।

किर्ते कागजपत्रका आधारमा प्रहरीको ३६ रोपनी जग्गा हत्याउन खोजेको आरोपमा भन्दै सिआईबीले पक्राउ गरेको हो । बस्नेतले उक्त जग्गा कीर्ते कागजात बनाएर निजी भएको दाबी गर्दै प्रहरीबाट हत्याउन खोजेपछि सिआईबीले किर्ते मुद्दामा अनुसन्धान अघि बढाएको छ ।

बस्नेत मालपोतकै अवकाशप्राप्त नायब सुब्बा हुन् । उनले पेस गरेका कागजपत्र नक्कली भएको पुष्टि भएपछि पक्राउ गरी कारबाही अघि बढाइएको सिआइबीकी निर्देशक एआइजी किरण बज्राचार्यले जानकारी दिइन् ।

पनौती नगरपालिका– ६ मा पर्ने कित्ता नम्बर ७५ को जग्गा नेपाल सरकारको निर्णयअनुसार ०५२ देखि नै प्रहरीले भोगचलन गर्दै आएको छ । सोही जग्गासमेत समेटेर गत वर्षदेखि भारतीय अनुदान सहयोगमा त्यहाँ १० अर्ब रुपैयाँको लागतमा आधुनिक प्रहरी एकेडेमी निर्माण गर्न लागिएको छ ।

प्रतिक्रिया