ट्रकको ठक्करबाट पैदलयात्री महिलाको मृत्यु


काठमाडौं – मकवानपुरको हेटौँडामा आइतबार ट्रकले ठक्कर दिँदा एक जना पैदलयात्रीको मृत्यु भएको छ । हेटौँडा-६ चौघडामा ट्रकको ठक्करबाट एक महिलाको मृत्यु भएको हो भने घटना पछि सडक अवरुद्ध पारिएको छ ।

ट्रकको ठक्करबाट हेटौँडा-६, चौघडाकी ३६ वर्षीय निरा बजगाईँको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीका अनुसार बजागाईंलाई कान्ति लोक पथअन्तर्गत हेटौँडा ६ स्थित शान्तिटोलमा हेटौँडा शिवम् सिमेन्ट फ्याक्ट्रीबाट हेटौँडा बजारतर्फ आउँदै गरेको ना.७ ख १८१६ ट्रकले ठक्कर दिएको थियो । बजगाईँको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

बजगाईँको मृत्युपछि आक्रोशित बनेका स्थानीयले कान्ति लोकपथ सडक अवरुद्ध पारेका छन् । उनीहरुले घटनाको छानबिन गरी दोषीलाई कारबाही गर्नुपर्ने र उचित क्षतिपूर्ति दिनुपर्ने माग राखेका छन् ।

सडक खुलाउन घटनास्थलमा करिब एक सय जना सशस्त्र र जनपथ प्रहरी परिचालन गरिएको छ । ट्रक तथा चालक प्रहरीको नियन्त्रणमा रहेको प्रहरीले जाएको छ ।

प्रतिक्रिया