नक्कली नोटसहित राजधानी र पर्साबाट तीनजना पक्राउ


काठमाडौं — राजधानीको पिंगलास्थनबाट नक्कलीजस्तो देखिने नोटसहित एक र पर्साबाट दुई गरी तीनजना पक्राउ परेका छन् ।

काठमाडौं महानगरपालिका–९, पिंगलास्थानबाट एक हजार दरका चार थान नक्कलीजस्तो देखिने नोटसहित काठमाडौं महानगरपालिका जडीबुटी बस्ने धनुषाका एक किशोर पक्राउ परेका हुन् । प्रहरी वृत्त गौशालाबाट खटिएको प्रहरीले उनलाई उक्त नोटसहित फेला पारी पक्राउ गरेको थियो ।

यसैगरी, पर्सा वीरगन्ज महानगरपालिका–८, घन्टाघरबाट एक हजार दरका ३८ थान नक्कलीजस्तो देखिने नोटसहित दुईजनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बारा कलैया उपमहानगरपालिका–३ बस्ने २५ वर्षीय उमेशकुमार पटेल र वीरगन्ज महानगरपालिका–३१, कोनिया बस्ने २३ वर्षीय ऋषि पटेल रहेका छन् ।

घन्टाघरस्थित सिटी मार्केटको कपडा पसलमा कपडा किन्दा उमेशले नक्कली रुपैयाँ दिएको भन्ने खबर प्राप्त हुनासाथ अस्थायी प्रहरी पोस्ट घन्टाघरबाट खटिएको प्रहरीले दुवैजनालाई पक्राउ गरेको हो । उनीहरूले प्रयोग गरेको प्र२–०३–००१प ८९० नम्बरको मोटरसाइकलसमेत प्रहरीले नियन्त्रणमा लिएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिक्रिया