

प्रचण्ड–माधव समूहको नयाँ सरकार दौडः छुचुन्द्रोको टाउकोमा चमेलीको तेल!

काठमाडौं– प्रतिनिधि सभाको बैठक बसेपछि प्रधानमन्त्री केपी शर्मा ओलीलाई अविश्वासको प्रस्ताव राख्दै नयाँ सत्ता समीकरणको खेलमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को पुष्पकमल दाहाल प्रचण्ड–माधवकुमार नेपाल समूह सक्रिय रहेको छ।
उसले बुधबार र बिहीबार नेपाली कांग्रेस र जनता समाजवादी पार्टीसँग सत्ता समीकरणका विषयमा सहमति खोज्नका लागि वार्ता गरेको थियो। दुवै पार्टीले प्रचण्ड–नेपाल समूहलाई पार्टीको आधिकारिकता के हो? भनेर सोधेका थिए।
नेपाली कांग्रेसले त नेकपा विभाजन नभई यस विषयमा चर्चा नगर्ने निर्णय गरेको छ भने जसपा नेताले दलको विषयमा आधिकारिक भएर मात्र छलफलमा अगाडि बढ्न सुझाव दिएको थियो।
तर यता नेता नेपालले भने ओलीको विकल्पमा सरकार बन्ने दाबी गरेका छन्। नेकपा आधिकारिक रुपमा विभाजन भइसकेको छैन। यस्तो अवस्थामा ओलीको विकल्पमा सरकार र सत्ता समीकरणको छलफल चलाउँदा उक्त समूहले गतिलो प्रतिक्रिया भने पाएको छैन।
‘छँदा खाँदाको दुई तिहाई बहुमत रहेको सरकार गिराउने, आपसी समझदारी नहुँदा प्रतिनिधि सभा विघटन गरी अहिले पुनःस्थापनाको घोषणा भएपछि दल समेत विभाजन नगरी सत्ता समीकरणतिर लम्किनु छुचुन्द्रोको टाउकोमा चमेलीको तेल लगाए बराबर हो’, जानकारहरू भन्छन्,‘नेकपाको आन्तरिक विवादको समस्याको जड र परिणामको खोजीको नियती यहि देखियो।’
एउटा आलेखमा दयालबहादुर शाहीले पनि यहि विषयलाई उठान गरेका थिए। गठबन्धन गरी ०७० मा तत्कालिन एमाले र माओवादी गठजोड सरकार बन्नासाथ उनले लेखेका थिए,‘मदन भण्डारीको अवशानपछि एमालेमा विचार राजनीतिका पारखीहरू रक्षात्मक हुनु र विचार विरोधी एवं ढुलमुले अवसरवादीहरूको साँठगाँठ जब्बर हँुदै जानुको फाइदा उग्रवामपन्थीहरूले उठाए। निरंकुश राजतन्त्र, परिचालित सेना, कांग्रेसको सर्वसत्तावाद, माओवादीको महत्वाकांक्षा र बाह्य हस्तक्षेपजस्ता चुनौतीहरूको सामना गर्न एमालेले जुन ढंगको प्रखर विचार राजनीति पस्कन सक्नुपथ्र्यो, त्यसमा चुक्यो।’
यहि सारांशका हिसाबमा नेकपाको राजनीति अगाडि बढ्दा आन्तरिक विवादसँगै प्रतिनिधि सभा विघटन र पुनःस्थापनाको घनासम्म आइपुगेको थियो।
नेकपा एकीकरण घोषणा भए पनि कार्यकर्ता प्रशिक्षण, जनपरिचालन, युवा पुस्तामा विचार हस्तान्तरण जस्ता कामहरू ओझेलमा पर्दा अहिलेको आन्तरिक विवादको उत्कर्ष यो तहमा आएको नेताहरूले बताउने गरेका छन्।
‘गठबन्धनपछि झन्डै दुई तिहाईको बहुमत जनताले दिए। पार्टी एकीकरण पनि भयो। तर एउटै पार्टीको बहुमत हुँदा पनि मिल्न नसकी विभाजनको अवस्थामा पुग्नु र अहिले सरकार बनाउनका लागि अनेक दलसँग अनुनय विनय गर्नु भनेकै आफ्नै रागले चाम्रिनु हो’, नेकपाका एक स्थायी समिति सदस्य भन्छन्,‘यस्तो अवस्था आउनुको दोषी को हो? प्रधानमन्त्री केपी ओली र प्रचण्ड होइनन्?’
त्यसो त यहि परिणाम नै खतरनाक रहेको नेकपा नेता लालबाबु पण्डितले पनि बताएका छन्। कुनै पनि समूहमा नखुलेका उनले जनताको बहुदलीय जनवादमा खुल्ने घोषणा गरेका छन्। यद्यपि उनले अहिलेको सरकार समीकरणको अभ्यासबारे टिप्पणी गर्दै भनेका छन्,‘आफ्नो बहुमतलाई लत्याएर अन्यसँग सरकार बनाइमाग्न नमस्कार गर्दै पुग्नु दुखदायी छ। गलत भइरहेको छ।’

