

लागुऔषधसहित तीन जना पक्राउ

मोरङ – विराटनगर महानगरपालिका- १६ हुलास चोकबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ ४७ मिलिग्रामसहित सोही महानगरपालिका- १५ बस्ने २४ वर्षीय प्रमिस डंगोललाई प्रहरीले पक्राउ गरेको छ ।
लागूऔषध नियन्त्रण ब्यूरो बिराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१० बसपार्कबाट अवैध लागूऔषध गाँजा ९ सय १९ केजी ३ सय २४ ग्रामसहित आइतबार २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा भारत बलरामपुर बिर्तापुर बस्ने ४५ वर्षीय दुलारे यादव र ३५ वर्षीय योगेश बर्मा रहेका छन् ।
सशस्त्र प्रहरी बल नेपाल नम्बर १४ गण मकवानपुरबाट खटिएको टोलीले चितवन खुरखुरेबाट वीरगंज हुँदै भारततर्फ जाँदै गरेको एनएल ०१ एसि २१४५ नम्बरको कन्टेनरलाई जाँच गर्दा २ फिटको फल्स बटम बनाई लुकाई छिपाई राखेको उक्त गाँजा फेला पारी ट्रक चालक दुलारे र सहचालक योगेशलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय मकवानपुरमा बुझाएको हो ।
दुवै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

