

दुर्लभ वन्यजन्तु सुनौलो कछुवासहित छजना पक्राउ

काठमाडाैं – काठमाडौंको टोखा नगरपालिका-५ स्थित सुनकोशी क्याफेबाट दुर्लभ वन्यजन्तु सुनौलो रङको कछुवासहित छजनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा काभ्रेपलाञ्चोकको पनौती नगरपालिका-१० बन्थली घर भएका ३२ वर्षीय जयराम घिमिरे, सोही नगरपालिका-८ घर भएका ४२ वर्षीय नारायण थामी, सोही नगरपालिका-४ घर भएका २८ वर्षीय रूपक बस्नेत, काभ्रे नमोबुद्ध नगरपालिका-२ पातलेगाउँ घर भएका २६ वर्षीय रहर तामाङ, काभ्रे नमोबुद्ध नगरपालिका-३ घर भएका ४६ वर्षीय सुदर्शन तामाङ र उदयपुरको त्रियुगा नगरपालिका-१३ घर भएका ३८ वर्षीय राजकुमार राई रहेका केन्द्रीय प्रहरी प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक कुवेर कडायतले जानकारी दिए ।
उनका अनुसार टोखा-५ मा अवैधरूपमा सुनौलो रङको कछुवाको कारोबार भइरहेको भन्ने विशेष सूचनाका आधारमा प्रहरी वृत्त महाराजगन्जबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई उक्त कछुवासहित फेला पारी पक्राउ गरेको हो । पक्राउ परेकालाई आवश्यक कारबाहीका लागि जिल्ला वन कार्यालय हात्तीसार काठमाडौं पठाइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

