श्राद्धका लागि छोरा भएको ठाउँमा आएकी शुभद्रा छोरा-बुहारीसँगै मारिइन्…
काठमाडौं – तीनकुनेस्थित गैह्रीगाउँमा गए राती हत्या गरिएकी दोलखाकी शुभद्रा भुजेल श्राद्धका लागि छोरा भएको ठाउँमा आएको खुलेको छ ।
धारिलो हतियार प्रयोग गरी हत्या गरिएको अवस्थामा तीनकुनेस्थित दिव्य सःमिलमा हत्या भएका चारजना मध्ये तीन जना शुभद्रासहित उनका छोरा र बुहारी रहेको खुलेको छ । घटनामा शुभद्रासहित छोरा कुमार भुजेल र बुहारी अम्बिका भूजेलसहित मिलका कर्मचारी नवीन राईको हत्या भएको थियो ।
मिलका सञ्चालक बालकृष्ण शिवाकोटीका अनुसार शुभद्रा केही दिनअघि मात्र काठमाडौं आएकी हुन् । दोलखामा स्थायी रूपमा बस्दै आएकी शुभद्रा श्रीमानको श्राद्धका लागि तिथी पारेर आएको पनि जनाइएको छ ।
काठमाडौं आएपछि सोही मिलमा सुरक्षागार्डको काम गर्ने छोरा र सोही मिलकी कर्मचारी बुहारीसँगै बस्दै आएकी शुभद्राको पनि हत्या भएको छ।
हत्यामा संलग्न रहेको आशंकामा प्रहरीले घटनाबारे प्रहरीलाई जानकारी दिन नयाँ बानेश्वर वृत्त पुगेका दीपेन्द्र राईलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दीपेन्द्र सोही काठमिलका पूर्वकर्मचारीका छोरा रहेको पनि खुलेको छ । ट्याक्सी चढेर वृत्त पुगेका राईलाई प्रहरीले कपडा र जुत्तामा रगत लागेको अवस्थामा नियन्त्रणमा लिएको जनाइएको छ ।
घटनास्थलबाट अहिले चारवटै शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा लगिसकिएको छ भने घटनास्थलमा प्रहरीले अनुसन्धान सुरु गरेको छ । अनुसन्धानमा काठमाडौं परिसर, अपराध अनुसन्धान महाशाखाका टोलि खटिएका छन् भने प्रहरीले तालिमप्राप्त कुकुरको समेत प्रयोग गरेको छ ।