सवारी दुर्घटनामा देशभर ८ को मृत्यु
काठमाडौं – देशभर भएका छुट्टाछुट्टै दुर्घटनामा परी ८ जनाको मृत्यु भएको छ । नेपाल प्रहरी प्रधान कार्यालयले दिएको जानकारी अनुसार उपत्यकालगायत देशभरका विभिन्न स्थानमा भएको दुर्घटनामा ती मानिसहरूको ज्यान गएको हो । प्रहरीका अनुसार मुस्ताङमा भएको एक दुर्घटनामा मृत्यु भएका मृतकको अहिलेसम्म पहिचान हुन सकेको छैन ।
ललितपुर महानगरपालिका–८ बालकुमारीस्थित हाल नम्बर नखुलेको बोलेरो गाडीले बिहीबार बिहान पैदलयात्रीहरुलाई ठक्कर दिँदा गम्भीर घाइते भएका महालक्ष्मी नगरपालिका–४ ईमाडोल बस्ने ७८ वर्षीय बाबुकाजी श्रेष्ठको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनलाई उपचारको लागि बिएण्डबी अस्पताल ग्वार्कोतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । ठक्करबाट घाइते भएका सोही ठाउँ बस्ने भाईलाल महर्जनलाई उपचारको लागि सोही अस्पतालमा पठाइएको छ । ठक्कर दिने सवारी साधन र चालकको प्रहरीले खोजी गरिरहेको छ ।
त्यस्तै काठमाडौं महानगरपालिका–३१ शान्तिनगरस्थित सडकमा प्रदेश ३–०२–०१३ प ६५०९ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री काभ्रे घर भएका हाल गोलढुङ्गा बस्ने २० वर्षीया सुजु पुतुवारको बुधबार साँझ मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको सिभिल अस्पताल हुँदै थप उपचारको लागि ट्रमा सेन्टरमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको केएमसी अस्पतालमा उपचार भइरहेको छ ।
त्यस्तै कैलालीको बर्दगोरिया गाउँपालिका–४ निमाबोजीस्थित सडकमा प्रदेश ०१००१ ख २३०९ नम्बरको बसले से.१ ब ९५७ नम्बरको मोटरसाइकललाई बुधबार साँझ ठक्कर दिँदा मोटरसाइकलमा सवार लम्की चुहा नगरपालिका–९ दुर्गौली बस्ने ३५ वर्षीया भागरथी रेग्मीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएकी उनको घोडाघोडी अस्पताल सुख्खडमा उपचारको क्रममा मृत्यु भएको हो । दुबै सवारी साधन र बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
त्यस्तै लम्कीचुहा नगरपालिका–३ चिसापानीस्थित सडकमा प्रदेश ०१–००८ प १६२५ नम्बरको मोटरसाइकल अनियन्त्रित भई बुधबार राति दुर्घटना हुँदा सोही नगरपालिका–१ बस्ने ४० वर्षीय रंग प्रसाद न्यौपानेको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका न्यौपानेको लाल रत्न अस्पताल लम्की हुँदै टिकापुर अस्पतालमा थप उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार अन्य २ जनाको लाल रत्न अस्पतालमा उपचार भईरहरेको छ ।
त्यस्तै सिरहाको धनगढिमाई नगरपालिका–१ बाखरस्थित सडकमा स.१ ग २५ नम्बरको डोजरको ठक्करबाट बुधबार बेलुका सोही स्थान बस्ने ५५ वर्षीय फ्रीतिया सदायको घटनास्थलमै मृत्यु भएको छ । डोजर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यसैगरी, कर्जन्हा नगरपालिका–१० प्रयागपुरमा बुधबार बेलुका ज.३ प ४८३१ नम्बरको मोटरसाइकलबाट लडेर सोही स्थान बस्ने ६५ वर्षीया बेचनी देबी साहको मृत्यु भएको छ । सोही स्थान बस्ने २१ वर्षीय संजिव साहले चलाएको मोटरसाइकलबाट ओर्लिने क्रममा लडेर गम्भीर घाइते भएकी साहको आरके मेडिसिटी मुसहरनीयाँ हुँदै थप उपचारको लागि बिराटनगरतर्फ लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो ।
यस्तै मोरङको बेलबारी नगरपालिका–४ स्थित सडकमा को.३२ प ५६३७ नम्बरको स्कुटर अनियन्त्रीत भई बुधबार राति दुर्घटना हुँदा स्कुटर चलाक सोही स्थान बस्ने १९ वर्षीया समीक्षा राईको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएकी राईको न्यूरो अस्पताल बिराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका स्कुटरमा सवार अन्य २ जनामध्ये १ जनाको नोबेल अस्पताल बिराटनगरमा उपचार भइरहेको छ भने अर्का १ जना स्थानीय क्लिनिकमा उपचार पश्चात डिस्चार्ज भएका छन् । स्कुटरलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
त्यस्तै हिमाली जिल्ला मुस्ताङको थासाङ गाउँपालिका–१ टुकुचेस्थित बेनी–जोमसोम सडकमा बा.३ ख ९६६५ नम्बरको बस र ग.१ त ५२८५ नम्बरको ट्याक्टर बाटोको छेउमा पार्किङ गरी राखेकोमा बा.३९ प ७२८० नम्बरको मोटरसाइकल क्रस गर्ने क्रममा बुधबार साँझ दुर्घटना हुँदा मोटरसाइकल चालक हाल नाम, थर, वतन नखुलेका करिब २२ वर्षीय पुरुषको घटनास्थलमै मृत्यु भएको छ । ३ वटै सवारी साधन र बस तथा ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।