

शिक्षाको व्यापारी बस्नेतः जसको जुवा अखडा चलाउने अनौठो तरिका छ

काठमाडौं– ललितपुर महानगरपालिका–२६ सुनाकोठीबाट केही दिन अघि प्रहरीले पक्राउ गरेका १७ जुवाडे मध्येका एक हुन्, सानुकान्छा बस्नेत। चार तले घरको दोस्रो तल्लामा ३० लाख ८४ हजार नगदसहित प्रहरीले नियन्त्रणमा लिएका मध्ये बस्नेत शिक्षाका पनि नामुद व्यापारी हुन्।
उनको जुवा खडा चलाउने अनौठो तरिका छन्। उनी ललितपुरको कुमारीपाटीमा जुवाडे भेला पार्छन्। भेला भएका जुवाडेका मोबाइल स्वीच अफ गरी एउटा झोलामा पोको पार्छन् र अखडातिर लैजान्छन्। त्यसो किन गर्छन्? ‘प्रहरीसम्म सुराकी र सूचना कसैले नदियोस् भनेर सुरक्षित हुनका लागि त्यसरी जुवाडेका मोवाइल कब्जामा लिएर राख्छन्। खेल सकिएपछि फिर्ता दिन्छन्’, स्रोतले भन्यो।
उनको कुमारीपाटीमा युनाइटेड कलेज, युनाइटेड सहकारीमा लगानी रहेको छ। व्यापारीक लगानी भए पनि जुवा अखडा नै किन चलाउँछन्? स्रोतले भन्यो,‘बिना लगानी यति ठूलो फाइदा हुन्छ की भनी साध्य छैन।’
लाखौंको खेल भएको ठाउँमा १० प्रतिशतका दरले रकम उठाउने गरिन्छ। कम्तिमा दैनिक ७ देखि ८ लाखसम्म रकम बिना लगानी जुवा खेलाएको भरमा नै उठ्ने भएपछि अन्य व्यापारभन्दा राम्रो आम्दानी भएपछि बस्नेत यसरी लागि परेका हुन्।
राजधानीका अधिकांश क्यासिनोमा नेपाली प्रवेशलाई प्रहरीले कडाई गरेपछि क्यासिनोका दलालहरूले घर, अपार्टमेन्ट र होेटलका कोठा बुकिङ गरेर जुवा खेलाउन थालेका थिए। अहिले ललितपुर र भक्तपुरमा यस्ता जुवा खाल चल्ने गरेका थिए।
युनाईटेड कलेज तथा युनाईटेड शहकारीका सञ्चालक समेत रहेका कान्छा बस्नेतले पनि जुवा अखडा चलाउँदै आएका छन् । बस्नेतको समूहले थेचु, सुनाकोठी, थसीखेल भैंसेपाटी, नख्खु दोबाटोलाई आधार क्षेत्र बनाएर जुवा खेलाउँदै आएको थियो।
प्रहरीबाट बच्न जुवाडेहरूले अखडाको नाम ‘प्रिपेड मोबाइल’ बताउने गरेका छन् ।
प्रहरीले हालै छापा मारेपछि बस्नेत नियन्त्रणमा लिइए। उनीहरूले प्रयोग गरेका तासका बुक, कौडा, क्यारामबोर्डका गोटी, सीमिलगायतका सामग्री पनि जफत गरिएको थियो।
स्थानीय अजय महर्जनको ४ तले पक्की घरको दोश्रो तलामा अवैध रुपमा जुवा तास खेली खेलाई रहेका छन् भन्ने बिषेश सूचनाको आधारमा परिसरबाट खटिएका प्रहरी निरिक्षक (इन्स्पेक्टर)हरू राज थपलिया र सुरेशराज भट्टको कमाण्डमा ३५ जनाको टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको थियो। त्यसमा बस्नेत पनि परेका थिए।
जुवाबारेको कानुन कमजोर रहेका कारण प्रहरीको नियन्त्रणमा आए पनि बस्नेतलगायतको समूहले यो कामलाई निरन्तरता दिन छाडेको छैन। साधारण जरिवाना गराउने र केही दिन मात्र थुनामा राख्ने कानुनी आधारका कारण जुवा अखडा चलाउने यीनिहरूलाई सजिलो भइरहेको प्रहरी अधिकारीहरूकै बुझाई छ।
बस्नेतसँगै प्रहरीले रामबहादुर लामा, प्रकाश भण्डारी, लवकुमार बस्नेत, राकेश महर्जन, दिनेश पुडासैनी, हिटलर श्रेष्ठ, अनिल महर्जन, श्रीकृष्ण खड्का, तुलसीराम महर्जन, सानुकान्छा महर्जन, पूर्ण श्रेष्ठ, विनोदप्रसाद घिमिरे, पूर्णमान माली, राम खत्री, विनोद महर्जन र चिरीकाजी महर्जनलाई नियन्त्रणमा लिएको थियो।

