

श्रीमानसँग झगडा भएपछि गैंडाकोटकी कुमालले आफ्नै शरीरमा लगाइन् आगो

गैंडाकोट – पूर्वी नवलपरासीको गैंडाकोटमा एक महिलाले आत्मदाहको प्रयास गरेकी छन् ।
गैंडाकोट नगरपालिका-२ एसपीएम चोक बस्दै आएकी २३ वर्षीया कञ्चन कुमालले आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएकी हुन् । उनको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
बुधबार श्रीमानसँग सामान्य झगडा भएपछि कोठाभित्र पसेर चुक्कल लगाएर आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका डीएसपी वेदबहादुर पौडेलले जानकारी दिए ।
आगलागीबाट गम्भीर घाइते उनको भरतपुर अस्पतालमा उपचार भइरहेको छ । ती महिलाको शरीरको माथिल्लो भाग र अनुहार जलेको प्रहरीको भनाइ छ ।
आगोले उनको ४० प्रतिशत शरीरको भाग जलेकोले भरतपुर अस्पतालमा उपचार सम्भव नभएपछि थप उपचारको लागि काठमाडौं रिफर गरिएको भरतपुर अस्पतालका सूचना अधिकारी गोपाल पौडेलले जानकारी दिए ।

