

शिव लिङ्गेश्वर धाम कटानको जोखिममा

कञ्चनपुर – कञ्चनपुरको बेदकोट नगरपालिका–४ बगुनस्थित प्रसिद्ध धार्मिक पर्यटकीय क्षेत्र शिव लिङ्गेश्वरधाम कटानको चपेटामा परेको छ । शिव लिङ्गेश्वर नजिक भएर बग्ने बगुन खोलाको बाढीले धाम क्षेत्रमा कटान गरिरहेको छ । बाढीले कटान गर्दा यस धामसमेत जोखिममा परेको स्थानीयवासीको गुनसो छ ।
‘विगतका वर्षमा यति धेरै कटान भएको थिएन, यस पटकको बाढीले लिङ्गेश्वर धाममा ठूलो क्षति पु¥याएको छ’, स्थानीयवासी महेन्द्र बोहरा भन्छन्, ‘समयमै कटान रोक्न सकिएन भने यो ठाउँ पूर्णरूपमा बगरमा परिणत हुने जोखिम छ ।’ कटान रोकथाम गरेर पर्यटकीय क्षेत्रको संरक्षण र सम्वद्र्धनमा स्थानीय तहले तदारुकता देखाउनुपर्ने उनको माग छ । लिङ्गेश्वर धाममा चुरे पहाड खिइएर बनेको अनौठो दृश्य रहेकाले यो क्षेत्र आन्तरिक पर्यटकको रोजाइमा पर्ने गरेको छ ।
‘बेदकोटको चिनारीको रूपमा रहेको लिङ्गेश्वर धाम धार्मिक तथा पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण छ’, अर्का स्थानीयवासी कपिल जोशी भन्छन्, ‘यो नगर विदेशमा समेत परिचित छ, त्यसैले यसको संरक्षण आवश्यक छ ।’ लिङ्गेश्वर क्षेत्रमा केही वर्ष अघि निर्माण गरिएको मन्दिर, मूर्ति पर्यटकका लागि तस्बिर खिच्न निर्माण गरिएको ‘सेल्फी वाल’ समेत बाढीले भत्काएको छ । ‘नदीले कटान गरेर लिङ्गेश्वर क्षेत्र जोखिममा छ, केहीवर्ष अघि निर्माण गरिएको मन्दिर बगाएको छ’, बेदकोट नगरपालिका–४ का गणेशदत्त भट्टको गुनासो छ ।
बलियो तटबन्ध निर्माण गरेर यस धार्मिक तथा पर्यटकीय क्षेत्रको संरक्षण गरिनुपर्नेमा उनी जोड दिन्छन् । आन्तरिक पर्यटनको रोजाइमा पर्न थालेपछि नगरपालिकाले लिङ्गेश्वर धाममा विभिन्न भौतिक संरचना निर्माण गरेको थियो । पूर्व–पश्चिम राजमार्गअन्तर्गत दैजी बजारबाट करिब आठ किलोमिटर उत्तरतर्फ चुरे क्षेत्रमा रहेको लिङ्गेश्वर धामको मनमोहक दृष्यले हरेकको ध्यान तान्ने गरेको छ ।
चारैतिर हरियाली र शान्त वातावरण रहेको र करिब पाँच सय मिटर फराकिलो लिङ्गेश्वरको दृष्य मनमोहक छ । यस क्षेत्रको प्रचारप्रसार भएसँगै अवलोकन गर्न आउने आन्तरिक पर्यटकको संख्या बढ्दै गएको स्थानीयवासीको भनाइ छ । लिङ्गेश्वर धामको दर्शन गरेमा मनोकामना पूरा हुने जनविश्वास रहिआएको छ । रासस

