

गंगादेवी चौहानले लेखेको ‘रुद्राक्ष’ सानो पर्दामा

काठमाडौं– स्प्लास इमेज इन्टरटेनमेन्ट प्रालिले टेलिभिजन दर्शकहरुका लागि सत्य कथामा आधारित ‘रुद्राक्ष’ टेलिसिरियल ल्याउने भएको छ।
सामाजिक विसङ्गति विकृतिका साथै रुढीवादी समाजविरुद्ध महिलाले भोग्नुपर्ने पीडा, जीवनयापनका कष्टप्रद कथा, वैदेशिक रोजगारीमा रहँदा महिलाले भोग्नुपर्ने समस्या टेलिसिरियलले देखाउन खोजेको छ।
जीवन जीउनका लागि महिलाले भोग्नुपर्ने समस्यालाई समेट्दै निर्माण गर्न लागिएको रुद्राक्ष टेलिसिरियल आगामी बैशाखदेखि दर्शकमाझ ल्याइने भएको हो।
रुसिल अमात्य निर्देशक तथा निर्माता रहेको रुद्राक्षलाई गंगादेवी चौहानले सामाजिक कथामा उनेकी छन्।
सिरियलको मुख्य भूभिकामा पनि लेखक चौहान छिन्। अन्य कलाकारहरुमा शारदा गिरी, सूर्यबहादुर नहर्की, भिमसेन खतिवडालगायत छन्।
फागुनको दोस्रो सातादेखि छायांकन सुरु गर्न लागिएको रुद्राक्षले समाजमा घट्दै आएका विकृति र विसंगतिलाई उजागर गर्ने मात्र नभई त्यसको समाधानका लागि नीति निर्माणको तहलाई झक्झक्याउने विश्वास पनि निर्माण पक्षले लिएको छ ।
रुद्राक्षको सम्पादन शक्ति प्रज्वल घिमिरेले गर्ने भएका छन् भने छायांकन नमराज घिमिरेले गर्ने जनाइएको छ । ह्वाइट मिडियाले गरेको भिडिओ प्रोडक्सनको सिरियलको संगीत निर्देशन सुदीप सिंहले गरेका छन्।

