

बाहिरबाट ताल्चा लगाएको घरभित्र एक महिला मृत फेला

काठमाडौं – रूकुम पश्चिममा बाहिरबाट ताल्चा लगाएको घरभित्र एक जना महिला मृत फेला परेकी छन्। मुसिकोट नगरपालिका-१ सल्लेकी ५१ वर्षीया हस्तकली बुढाथोकी गएराति मृत फेला परेकी हुन्।
बाहिरबाट ताल्चा लगाएको आफ्नै घरभित्र बुढाथोकी मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी प्रमुख डिएसपी नमराज भट्टराईले बताए ।
मृतक बुढाथोकीका एक जना छोरा जापानमा र एक जना बाँकेको नेपालगंजमा बस्ने हुँदा उनी घरमा एक्लै बस्दै आएकी थिइन्। उनका श्रीमानले केही वर्ष पहिले आत्महत्या गरेको भन्ने खुलेको डिएसपी भट्टराईले बताए।
घटनाको अनुसन्धानका लागि प्रहरीले बाँकेको कोहलपुरबाट तालिमप्राप्त कुकुर झिकाएको छ। उक्त तालिम प्राप्त कुकुर आइनसकेकोले घटनास्थललाई गएरातिदेखि नै सुरक्षित राखिएको डिएसपी भट्टराईले बताए।

