भागरथी हत्याः मृतकका बुवाले अभियुक्तकी फुपूलाई के गरेका थिए?


काठमाडौं– बैतडीकी १७ बर्षिया किशोरी भागरथी बलात्कार र हत्या प्रकरणमा अभियुक्तका रुपमा सार्वजनिक गरिएका दिनेश भट्टले बारम्बार प्रहरीको बयानमा भनेका छन्,‘उनका बुवाले मेरो फुपूलाई नराम्रो गरेका थिए त्यहि भएर बदला लिएको हुँ।’

सबै अनुसन्धान सकेर अभियुक्त सार्वजनिक गर्ने क्रममा दिनेशको यो बयानलाई विवरणका रुपमा प्रहरीले प्रस्तुत गरे पनि भागरथीको हत्याको मूल कारण उनका बुवाले अभियुक्तकी फुपूलाई के गरेका थिए? भन्नेचाहिँ खुलाएको छैन।

दुवैको परिवारबीच पुरानो रिसिइबी भनी व्याख्या गरिएको छ। तर त्यो कस्तो रिसिइबी हो? योचाहिँ खुलाइएको छैन। यद्यपि भागरथी हत्या प्रकरणको मूल दोषी आफू रहेको भनी दिनेशले साबिती बयान दिएपछि अनुसन्धानका लागि म्याथ थपी सार्वजनिक गरिएको छ।

दिनेशले बयानमा दिएका कतिपय भनाईले पनि उनले नै हत्या गरेको भन्ने प्रमाणित गर्न प्रहरी सफल भयो। तर, १८ बर्षको किशोरले कस्तो प्रतिशोधका लागि १७ बर्षिय किशोरी र आफन्त नै पर्नेको हत्या योजना बनाए भन्नेलाई सार्वजनिक गरिएको छैन।

दिनेशलाई भागरथीको हत्या भएको १३ औँ दिनपछि प्रहरीले घरबाट नै पक्राउ गरेको थियो।

बैतडीको दोगडाकेदार गाउँपालिका–७ की किशोरी भागरथीलाई दिनेशले भीरबाट लडाएर घाइते बनाएपछि घाँटी थिचेर हत्या गरेको बताए। प्रतिशोधको यो योजना उनले पहिलेदेखि नै बनाएको पनि खुलाएका छन्।

दिनेशले हत्यालाई योजनाबद्ध रुपमा गरेको र त्यसबाट उम्किने दाउ पनि राम्रोसँग रचेका थिए। अनुसन्धानका लागि कुकुर झिकाएको दिन उनी गोरु चराउन गए, न्यायका लागि प्रदर्शन भएको दिन सबैभन्दा अग्रपंक्तिमा उभिएर नारा लगाए।

मंगलबार राति दिनेशलाई खोचलेक प्रहरी चौकीबाट जिल्ला प्रहरी कार्यालय बैतडी लगिएको थियो। दिनेश भागरथीका आफन्तसमेत रहेको खुलेको छ।

भागरथी र दिनेश स्थानीय सनातन धर्म माध्यामिक विद्यालयमा कक्षा १२ र ११ मा अध्ययनरत थिए। घटनाको दिन डेढघण्टा पहिल्यै स्कुल कक्षा छाडेर दिनेश हत्याको योजनामा लागेका थिए। जसलाई उनले सफल तुल्याए।

यसैबीच थप अनुसन्धानका लागि अभियुक्त दिनेशको म्याद थप गरिएको छ। जिल्ला अदालत बैतडीले ५ दिन हिरासतमा राखी अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ।

प्रतिक्रिया