संविधानको धारा नै कुल्चिएर संसद् विघटन गर्नु संविधान खारेजी गर्नु सरह नै हो : जनार्दन शर्मा


सल्यान – नेकपा प्रचण्ड–माधव समूहका स्थायी कमिटी सदस्य जनार्दन शर्माले अहिलेको लडाइँ पद र प्रतिष्ठाभन्दा पनि संसद् पुनर्स्थापनाको रहेको बताएका छन् । नेपाली जनताको भावनामाथि खेलबाड गरी प्रधानमन्त्री केपी शर्मा ओलीले चालेको असंवैधानिक कदमका विरुद्ध संविधानको रक्षार्थको लडाइँ सुरु भएको उनले बताए ।

प्रेस संगठन नेपाल सल्यानले खलंगामा मंगलबार आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा पूर्वगृहमन्त्रीसमेत रहेका शर्माले अहिलेको संसद् विघटन संविधान खारेजीजस्तै भएको बताएका हुन् ।

कर्णाली प्रदेश इन्चार्जसमेत रहेका शर्माले पार्टीविशेषको मात्र नभएर संघीयता, धर्मनिरपेक्षता, समानुपातिक समावेशिताको कार्यान्वयन गर्ने वा नगर्ने भन्नेबीचको लडाइँ जारी रहेको बताए । अहिले मध्यावधि निर्वाचन हुनै नसक्ने उनको जिकिर छ ।

‘अहिले नेकपाभित्रको विवाद उत्कर्षमा पुगेको छ, पार्टीको आधिकारिकताको विवाद निर्वाचन आयोगमा पुगेको छ, यस्तो अवस्थामा कुनै पनि हालतमा मध्यावधि निर्वाचन हुन सक्दैन, यदि यस्तो अवस्थामा निर्वाचन गर्न खोजियो भने त्यसको हिसाबकिताब जनताले गर्नेछन् ।’ उनले भने, ‘संविधानको धारा नै कुल्चिएर संसद् विघटन गर्नु संविधान खारेजी गर्नु सरह नै हो,’ उनले भने ।

प्रतिक्रिया