

अवैध लागूऔषधसहित १ महिला र २ पुरूष पक्राउ

काठमाडौं – प्रहरीले विभिन्न लागूऔषधसहित दाङ र बाँकेबाट ३ जनालाई पक्राउ गरेको छ ।
प्रहरीले दाङको घोराही उपमहानगरपालिका–१९ दुईखोलीबाट नियन्त्रित लागूऔषध ६ केजी १ सय ग्राम अफिम जस्तो देखिने पदार्थ सहित रोल्पा थवाङ गाउँपालिका–५ बस्ने ३८ वर्षीय प्रकाश घर्तीलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरीले घर्तीलाई उक्त परिमाणको लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो ।
त्यस्तै बाँकेको नेपालगंज उपमहानगरपालिका–१५ जमुनाहबाट नियन्त्रित लागूऔषध ३ ग्राम ५ सय मिलिग्राम ब्राउन सुगर जस्तो देखिने पदार्थसहित २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको गरेको छ ।
पक्राउ पर्नेहरुमा डुडुवा गाउँपालिका–५ बस्ने २१ वर्षीय बिष्णु थारु र सुर्खेत बीरेन्द्रनगर नगरपालिका–३ कालागाउँ बस्ने २७ वर्षीया सृजना थापा रहेका छन् ।
लागूऔषध नियन्त्रण ब्यूरो र ईलाका प्रहरी कार्यालय जमुनाहबाट संयुक्त रुपमा खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनीहरूलाई उक्त परिमाणको लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

