कानुन व्यवसायी अमिर लामिछाने र सुब्बा प्रेमिका तामाङबीच सहमति


ललितपुर – कानुन व्यवसायी अमिर लामिछाने र जिल्ला अदालत ललितपुरकी नायब सुब्बा प्रेमिका तामाङबीचको विवाद सहमतिमा टुंगिएको छ ।

नेपाल बार एशोसिएसनका केन्द्रीय प्रतिनिधिको उपस्थितिमा बिहीबार दुई पक्षबीच भएको वार्तापछि सात बुँदे सहमति गर्ने निर्णय भएको हो।

आगामी दिनमा दुबै पक्षले उक्त घटनालाई लिएर द्वेषभाव नराखी विवादलाई अन्त्य गरी आ–आफ्नो कार्य क्षेत्रमा काम गर्ने सहमति भएको हो।

असार १३ गते अपराह्न साढे ४ बजे अदालतमा वकिल लामिछानेले नासु तामाङमाथि कुटपिट गरेको आरोप लागेको थियो। प्रहरीले लामिछानेलाई पक्राउ समेत गरेको थियो। गत आइतबार उनी साधारण तारेखमा रिहा भएका थिए।

यस्तै ललितपुर जिल्ला अदालतमा सिसिटिभीको मर्मत गर्न पनि दुबै पक्षले सर्वोच्च अदालतसँग अनुरोध गरेका छन्।

बार एसोसिएसन र निजामती कर्मचारीबाट घोषणा भएका विरोध कार्यक्रमहरू पनि स्थगित गरी काममा फर्किने सहमति भएको छ।

विरोध प्रदर्शनका कारण सेवामा परेको असुविधाप्रति उनीहरूले क्षमायाचना समेत गरेका छन्।

प्रतिक्रिया