पीडितलाई क्षतिपूर्ति र पीडकलाई कारबाही गर्न आयोगको आग्रह


काठमाडाैं – राष्ट्रिय मानव अधिकार आयोगले सरकारलाई यातना पीडित सम्बन्धी उजुरीमा गरेको सिफारिसमा पीडितलाई क्षतिपूर्ति र पीडकलाई कारबाही गर्न आग्रह गरेको छ ।

आयोगका प्रवक्ता डा. टीकाराम पोखरेलद्वारा सोमवार जारी विज्ञप्तिमा आयोगले यातनासम्बन्धी उजुरीहरूमा पीडितलाई क्षतिपूर्ति र पीडकलाई कारबाही तथा पीडकबाट क्षतिपूर्ति भराउने जस्ता सिफारिस सरकारलाई गरेको उल्लेख गर्दै ती सिफारिस कार्यान्वयनमा जोड दिन स्मरण गराएको छ ।

यातनासम्बन्धी उजुरीहरूमा करीब २०० वटाको आयोगले सिफारिस गर्दै पीडितलाई क्षतिपूर्ति र पीडकलाई कारबाही गर्न भनेको छ । ‘यी सिफारिसको कार्यान्वयनको सन्दर्भमा केहीमा पीडितहरूलाई क्षतिपूर्ति दिलाउनेबाहेक पीडकलाई कारबाही गर्ने कार्यहरू अत्यन्त न्यून देखिएकाले आयोगको सिफारिस कार्यान्वयनमा जोड दिन सरकारलाई यस अवसरमा आयोग पुनः स्मरण गराउँछ,’ विज्ञप्तिमा उल्लेख गरिएको छ ।

उनका अनुसार हाल आयोगमा यातनासम्बन्धी ३५८ वटा उजुरीहरू विचाराधीन अवस्थामा रहेका छन् । ‘स्थापनादेखि नै यातना दिइने कार्यको विरुद्ध अनुगमन तथा अनुसन्धान गर्दै आइरहेको छ । नेपालमा विगतको सशस्त्र द्वन्द्वको समयमा पक्राउ गरी मानसिक तथा शारीरिक यातना दिइएका घटनाहरूको विषयमा उजुरी दर्ता गर्ने र ती घटनाहरूमा आयोगले अनुगमन तथा अनुसन्धान गरी सरकारसमक्ष सिफारिस गर्दै आएको छ,’ विज्ञप्तिमा भनिएको छ ।

आयोगले कसैले पनि कुनै पनि व्यक्तिलाई कुनै पनि बहानामा यातना दिने कार्य कानुन विपरीत भएको जनाउँदै व्यक्तिलाई यातना दिइने जस्तो अमानवीय तथा अपराधजन्य कार्य कहीँ कतैबाट पनि नगर्न, नगराउन समेत भनेको छ ।

प्रतिक्रिया