

प्रधानमन्त्री कप क्लब लिग भलिबल असार अन्तिम साता

काठमाडौं – सातौं प्रधानमन्त्री कप राष्ट्रिय महिला तथा पुरुष क्लब लिग भलिबल प्रतियोगिता असार अन्तिम साता आयोजना हुने भएको छ।
नेपाल भलिबल संघले सोमबार पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगिता असार २३ देखि ३० गतेसम्म हुने जनाएको छ। प्रतियोगितामा सातौं एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब लिगबाट छनौट भएका पुरुष र महिला टोलीले सहभागिता जनाउने छन्।
पुरुषतर्फ टिपटप हेल्प नेपाल स्पोर्टस् क्लव, त्रिभुवन आर्मी क्लब, सशस्त्र प्रहरी बलको एपिएफ क्लब, नेपाल प्रहरी, दावाली मिलन क्लब, केशवलाल स्मृति-प्रतिष्ठान, गण्डकी प्रदेश भलिबल संघ, शैलुङ्ग वागढुङ्गा स्पोर्टस् क्लब रामेछाप गरि ८ क्लबको सहभागिता हुनेछ।
महिलातर्फ नेपाल प्रहरी, होडवाजी न्यू डायमन्ड युथ स्पोर्टस् क्लब, नेपाल एपिएफ क्लब, त्रिभुवन आर्मी क्लव, एभरेष्ट भलिवल क्लब बुटवल र गण्डकी प्रदेश भलिबल संघ गरी ६ टिमहरुको सहभागिता रहने छ।
प्रतियोगितामा महिला तथा पुरुषतर्फ प्रथम, द्वितीय, तृतीय र चतुर्थ स्थान प्राप्त गर्ने टिमहरुले क्रमशः ६ लाख, ३ लाख, १ लाख ५० हजार र ७५ हजार प्राप्त गर्ने छन्।

