‘कोभिडले थलिएको अर्थतन्त्रले ५० अर्बको निर्वाचन कसरी धान्छ ?’


तेह्रथुम – नेकपा स्थायी समिति सदस्य वर्षमान पुन ‘अनन्त’ले कोभिड–१९ महामारीले थिलथिलो भएको मुलुकको अर्ततन्त्रले मध्यावधि निर्वाचन धान्न नसक्ने बताएका छन्।प्रतिनिधिसभा विघटनविरुद्ध तेह्रथुममा आइतबार आयोजित सभालाई सम्बोधन गर्दै पूर्वउर्जामन्त्रीसमेत रहेका पुनले निर्वाचनमा ५० अर्ब खर्च हुने बताए।

पाँच वर्षसम्म सरकार चलाउन जनताले दिएको अभिमतमाथि घात गर्दै राज्यकोषबाट ५० अर्ब खर्च गराएर निर्वाचन गराउनु लोकतन्त्र नभएको उनको भनाइ थियो।

निर्वाचनका नाममा बर्बाद पार्ने ५० अर्ब रुपैयाँले ७७ वटै जिल्लामा एक/एकवटा अस्पताल निमार्ण गर्न सकिने वा सबै जनतालाई कोभिड–१९ विरुद्धको खोप निःशुल्क लगाउन सकिने पुनले उल्लेख गरे।

‘जनताले पाँच वर्ष चलाउन दिएको संसद विघटन गर्ने र ५०औं अर्ब खर्च गरेर चुनाव गर्छु भन्नु कुनै पनि तरिकाले लोकतन्त्रको पक्षमा छैन’, पुनले भने, ‘प्रधानन्त्रीजी तपाईं जनताप्रति जिम्मेवार हुनुहुन्छ ? ५० अर्ब खर्च गरेर गर्न खोजेको के हो ? कस्तो लोकतन्त्रको अभ्यास गर्न खोजेको हो?’

प्रधानमन्त्री ओलीले संविधान मिचेर जनताको अभिमतमाथि विश्वासघात गरी मुलुकलाई प्रतिगमन र अस्थिरताको बाटोमा हिंडाउन खोजेको भन्दै पुनले त्यसलाई सच्याउन प्रतिनिधिसभा पुर्नस्थापनाको विकल्प नरहेकामा जोड दिए।

‘तपाईंहरुले ७० वर्षसम्म जनताले रगत/पसिना बगाएर ल्याएको लोकतन्त्रमाथि प्रहार गर्नुभएको छ’, पुनले भने, ‘हामी क्रान्तिकारीहरुलाई बल प्रयोगको धम्की दिन बन्द गर्नुस्, हामी त्यस्ता धम्कीसँग डराउँदैनौं ।’ जनसमर्थन कमजोर भएपछि प्रधानमन्त्री र गृहमन्त्री धम्की र बल प्रयोगको भाषा प्रयोग गर्न थालेको उनको भनाइ थियो ।

प्रतिक्रिया