मलेसियाले श्रमिकको मृत्यु भए परिवारलाई आजीवन पेन्सन दिने


काठमाडौं – श्रम स्वीकृति लिएर मलेसिया जाने नेपाली कामदारको मृत्यु भएमा आश्रित परिवारले आजीवन पेन्सन पाउने भएका छन् । श्रमिकको न्यूनतम पारिश्रमिकको ९० प्रतिशत रकम मृतकको परिवारले आजीवन पाउने भएका हुन् ।

वैदेशिक रोजगार बोर्डका अनुसार मलेसिया सरकारले सञ्चालन गरेको सामाजिक सुरक्षा संस्था (सोक्सो) कार्यक्रमअन्तर्गत नेपाली श्रमिकले यस्तो सुविधा पाउने भएका छन् । यो सुविधा मृतकको परिवारजन (आमा, बाबु, श्रीमती वा श्रीमान् र २१ वर्ष नपुगेका छोराछोरी)ले पेन्सन सुविधा पाउनेछन् ।

त्यस्तै, मृतक कामदारको दाहसंस्कार गर्न सोक्सोले २ हजार रिंगेट (५७ हजार ६८० रुपैयाँ) प्रदान गर्नेछ । तर, कामदारको शव नेपाल ल्याउनुपरेमा ६ हजार ५ सय रिंगेट ९ १ लाख ८७ हजार रुपैयाँ० प्रदान गर्नेछ ।

मलेसिया जाने नेपाली श्रमिकलाई पनि सोक्सोमा आबद्ध गराउन मलेसियास्थित सोक्सोले प्रस्ताव गरेको बोर्डले जनाएको छ । सोक्सो प्रस्तावलाई मलेसियाको मन्त्रिपरिषद्ले समेत पारित गरेको छ ।

त्यसैले केही दिनमा नै वैदेशिक रोजगार बोर्ड र सोक्सोबीच सम्झौता हुने बोर्डले जनाएको छ । सम्भवतः आगामी फागुनदेखि नै नेपाली श्रमिक सोक्सोमा आबद्ध हुने बोर्डको भनाइ छ ।

प्रतिक्रिया