संसद विघटनविरूद्ध सर्वोच्चमा परेको रिटमाथि जवाफी बहस शुरु


काठमाडौं – प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा परेको रिटमाथि आज (आइतबार) देखि जवाफी बहस शुरु भएको छ । रिट निवेदकका तर्फबाट अधिवक्ता विकास भट्टराईले बहस सकेका छन् ।

उनले प्रधानमन्त्रीका वकिलले भने जस्तो सरकारलाई संसद्ले असहयोग नगरेको पनि बताएका छन् । अहिले अधिवक्ता दीनमणि पोख्रेलले बहस गरिरहेका छन् । प्रतिनिधिसभा विघटनको विपक्षमा १३ वटा रिट दायर भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीकातर्फबाट कानुन व्यवसायीले गएको बिहीवार बहस सकेपछि आजदेखि उनका तर्फबाट बहस गरेका कानुन व्यवसायीले उठाएका प्रश्नको जवाफ रिट निवेदकका तर्फबाट वकिलहरुले जवाफ दिन लागेका हुन् । सुनुवाइ अदालतको संवैधानिक इजलासमा भइरहेको छ । इजलासमा प्रधानन्यायाधिश जबराको नेतृत्वमा न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्ह्वा, सपना प्रधान मल्ल र तेजबहादुर केसी रहेका छन् ।

प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गएको पुस ५ गते संसद विघटन गरेपछि त्यसविरुद्ध परेको मुद्दामा बहस भइरहेको छ । रिट निवेदकहरुले संविधान विपरीत प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गरेको दाबी गरेका छन् भने प्रधानमन्त्रीका तर्फबाट बहस गर्ने कानुन व्यवसायीले भने प्रधानमन्त्रीले आफ्नो अधिकार प्रयोग गरेको दाबी गरेका छन् ।

जवाफी बहस सकिएपछि एमिकस क्यूरीमा रहेका पाँच जनालाई आफ्नो कुरा राख्न समय दिइनेछ । एमिकस क्यूरीले आफ्नो राय राखेपछि त्यसको केही दिन समय लिएर सर्वोच्च अदालतले फैसला गर्नेछ ।

प्रतिक्रिया