पर्यटन प्रवद्र्धनार्थ काभ्रेका चार स्थान छनोट, १३ करोड ९२ लाख बजेट विनियोजन


काभ्रेपलाञ्चोक । पर्यटन प्रवद्र्धनका लागि भौतिक पूर्वाधार निर्माणार्थ यहाँको चार स्थान छनोट गरिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले देशभरका पालिकाको समन्वयमा विभिन्न परियोजना, आयोजना छनोटका क्रममा काभ्रेपलाञ्चोकको चार स्थान छनोट गरेको हो ।

पर्यटकीयस्थलको संरक्षण एवं भौतिक पूर्वाधार निर्माण गर्न छनोट गरिएका चार स्थानीय तहका चार स्थानका लागि १३ करोड ९२ लाख बजेटसमेत विनियोजन गरिएको छ । योजनाअन्तर्गत भुम्लु गाउँपालिकाको भीमसेनस्थान–गढीडाँडा–साँगासोती पर्यटन पूर्वाधार विकासमा ४ करोड ६२ लाख, रोशी गाउँपालिकास्थित तीनधारे झरना संरक्षण एवं पूर्वाधार विकासका लागि ५ करोड, बनेपा नगरपालिकाको चण्डेश्वरीमा सिँढी निर्माणमा ३ करोड ३० लाख र चौँरीदेउराली गाउँपालिकास्थित साँगासोती–खाँडाखेवी युद्ध पर्यटन पदमार्गका लागि १ करोड बजेटसहित रहेका छन् ।

मन्त्रालयको पर्यटन पूर्वाधार विकास तथा पर्यटन उपज विकास साझेदारी (सञ्चालन तथा व्यवस्थापन) निर्देशिका–२०७७ अनुसार प्रदेश र स्थानीय तहको लागत साझेदारी पर्यटकीय गन्तव्य पूर्वाधार कार्यक्रमअन्तर्गत भौतिक निर्माणलाई प्राथमिकता दिइएको हो । सरकारले छनोट गरेका अधिकांश आयोजना उद्यान, वनभोजस्थल, मन्दिर, पर्यटकीयस्थलसम्म पुग्ने सडक, पदमार्ग, सङ्ग्रहालय, गुम्बा, स्मृति–उद्यान, मनोरञ्जनस्थल (फनपार्क) लगायतका रहेका छन् ।

केही महिनाअघि मात्रै प्रचारमा ल्याइएको रोशी गाउँपालिकाको तीनधारे झरनामा आन्तरिक पर्यटकको निकै चहलपहल बढिरहेको छ । यसको संरक्षण एवं भौतिक निर्माणका लागि गाउँपालिका पनि बजेटसहितको योजना बनाउने प्रक्रियामा छ । पूर्वमन्त्री एवं प्रतिनिधिसभाका पूर्वसदस्य गोकुलप्रसाद बाँस्कोटाले स्थानीय तहका गन्तव्य पूर्वाधार विकासका लागि साझेदारी गराई सरकारले देशभरको स्थल छनोट गरी पर्यटकीय गन्तव्यको रूपमा पूर्वाधार विकास गर्न पर्यटन क्षेत्रमा योजना थपिएको बताए । “अन्य क्षेत्रका विकाससँगै हामी जिल्लामा राष्ट्रिय गौरवका आयोजना निर्माणको प्रक्रिया अघि बढाइरहेका छौँ, समयमै काम सक्नुपर्यो, योजना र बजेटको चिन्ता गर्नुपर्ने अवस्था छैन”, उनले भने ।

मन्त्रालयले हालैमात्र देशभरका २०० पर्यटकीय गन्तव्यको पूर्वाधार विकास निर्माणका लागि स्थान छनोट गरी करिब ६ अर्ब ८० करोड विनियोजन गरेको छ । वाग्मती प्रदेशको काठमाडौँ र सिन्धुली जिल्लाबाहेक ११ जिल्लाका २० पर्यटकीय गन्तव्य पूर्वाधारका निर्माणका लागि छनोटमा परेका छन् ।

यसअघि मन्त्रालयले १०० वटा नयाँ पर्यटकीय गन्तव्यस्थल निर्धारण गर्दा वाग्मती प्रदेशमा सूचीकृत १७ स्थलमध्ये छनोटमा परेको काभ्रेपलाञ्चोकको महाभारत ट्रेल (लाँकुरीभञ्ज्याङ–फुल्चोकी–गुर्दुमडाँडा–नारायणस्थान–भुमेचुली पदमार्ग) को हाल विस्तृत परियोजना प्रतिवेदन (डिपिआ) तयार भइरहेको जनाइएको छ ।

प्रतिक्रिया