

विवाह गर्न दबाब दिएपछि २२ वर्षीय युवकले गरे ४२ वर्षीया प्रेमिकाको हत्या

जनकपुरधाम – धनुषामा एक प्रेमीले प्रेमिकाको हत्या गरेका छन् । प्रेमिकाले पटक–पटक विवाहका लागि दबाब दिएपछि प्रेमीले हत्या गरेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।
मिथिला बिहारी नगरपालिका-८ तारापट्टीकी ४२ वर्षीया उषा दासको हत्या आरोपमा पक्राउ परेका २२ वर्षीय ओमलाल मण्डललाई आज (मंगलबार) धनुषा प्रहरीले सार्वजनिक गरेको छ । बाराको कलैया नगरपालिका–१८ का मण्डलले जनकपुरधाममा घर बनाउने मिस्त्रीको काम गर्दै आएका थिए । सोही क्रममा तीन वर्षअघि उषासँग चिनजान भएर प्रेम सम्बन्ध बसेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार ती महिलाले मण्डललाई विवाह गर्न पटक-पटक दबाब दिँदै आएकी थिइन् ।
गएको बिहीबार ओमलाल र उषाबीच विवाहकै विषयमा विवाद भएको थियो । ओमलालले रक्सी खाएको समय विवाद हुँदा उनले उषाको घाँटी थिचेर हत्या गरेको धनुषाका प्रहरी उपरीक्षक विश्वराज खड्काको भनाइ छ । उनका अनुसार उषा एकल महिला थिइन् । उनको उमेर बढी भएकाले ओमलालले विवाह गर्न अस्वीकार गर्दै आएका थिए ।
प्रहरीका अनुसार ओमलालले गत बिहीबार राति तारापट्टीस्थित घरमै फलामको रडले हत्या गरी घर पछाडिको पोखरीको डिलमा प्रेमिकाको शव गाडेका थिए । शवको तत्काल व्यवस्थापन गर्न उनले कपडा खोलेर नाङ्गै गाडेको प्रहरीले जनाएको छ ।
मृतक महिलाले प्रयोग गर्ने मोबाइल सोही पोखरीमा फालेको पाइएको थियो । लगाएको कपडा पोखरीको अर्को डिलमा गाडेको प्रहरी अनुसन्धानमा देखिएको छ ।
राति महिलाको हत्या गरी ओमलाल उनकै घरमा बसी भोलिपल्ट जनकपुरधाम आएका थिए । पैसाको व्यवस्थापन गरी उनी अपराध लुकाउन चितवन गएका थिए । मोबाइल लोकेसनका अधारमा प्रहरीले चितवन प्रहरीको सहयोगमा उनलाई सोमबार पक्राउ गरेर धनुषा ल्याएको थियो ।

