
बाँके दुर्घटनामा ज्यान गुमाउने अधिकारी उपप्रधानमन्त्री खड्काकै सवारीचालक !
काठमाडौं – सुर्खेत अस्पतालमा कार्यरत चिकित्सक डा. सञ्जु खाती खड्का चढेको दुर्घटना भएको निजी सवारीको चालक रक्षा एवं उपप्रधानमन्त्री पूर्णबहादुर खड्काको सवारी चालक रहेको खुलेको छ ।
गत मंगलबार बाँकेको राप्तीसोनारी गाउँपालिका–८ ठुडिया खोला नजिक बससँग ठोक्किएर भएको दुर्घटनामा चालक सुवास अधिकारी र खड्काकी बुहारी डा. सञ्जुको को मृत्यु भएको थियो ।
सशस्त्रका बरिष्ठ सहायक हवल्दार अधिकारी लामो समयदेखि उपप्रधानमन्त्री खड्काको सवारी चलाउँदै आएका थिए । पारिवारिक स्रोतका अनुसार चालक अधिकारी सशस्त्रका हवल्दार हुन् ।
सरकारी कर्मचारी कसरी डा. खड्काको निजी सवारी चलाएर हिँडेको विषय गम्भीर रहेको जनाइएको छ ।
‘हामीले कल्पनै नगरेको विषय, सरकारी सेवा सशस्त्र गएको व्यक्ति । बाँकेमा प्राईभेट गाडी लिएर । त्यसमाथि पनि जिम्मेवारी नभएको व्यक्ति लिएर हिँडेको अवस्थामा मृत्यु भयो भनेको सुन्दा अचम्मित भएका छौँ।’ मृतक अधिकारीका एक आफन्तले भने ।
गोरखा, आँपपिपलका ३७ वर्षीय सुवास अधिकारीका दुई छोरी र श्रीमती छन् ।
मंगलबार धनगढीबाट पूर्वतर्फ जाँदै गरेको मे१ख ३३३५ नम्बरको बसले काठमाडौंबाट कोहलपुरतर्फ आउँदै गरेको बा१३च ८२५३ नम्बरको कारलाई ठक्कर दिँदा कार चालक सुवास र सञ्जुको मृत्यु भएको थियो ।
घटनाको अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय, कोहलपुर बाँकेले जनाएको छ ।
… र यो पनि
एउटा फौजी कर्मचारीको अकालमै मृत्यु, सशस्त्रका हाकिमकै भूमिका शंकास्पद



कागजपत्र |
