

किन भत्काइयो भोर्लेटारचोकमा रहेको सहिद गेट ?

दमौली – पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–४ भोर्लेटारचोकमा रहेको सहिद गेट भत्काइएको छ । पृथ्वी राजमार्ग विस्तार गर्न लागि आज बिहान उक्त सहिद गेट भत्काइएको हो ।
मुग्लिन–पोखरा सडक योजना (पूर्वी खण्ड)ले दमौली प्रवेश गर्ने विन्दुमा रहेको उक्त सहिद गेट भत्काएको इञ्जीनियर विष्णुप्रसाद पाण्डेले जानकारी दिए ।
नेकपा (माओवादी) केन्द्रले उक्त सहिद गेटको निर्माण गरेको थियो । सहिद गेटमा तनहुँ जिल्लामा विभिन्न समयमा सहादत प्राप्त गरेका सहिदको विवरण समेटिएको थियो ।
मुग्लिन–पोखरा सडक खण्डलाई चार लेनमा विस्तार गर्न काम भइरहेको छ । मुग्लिनबाट पोखरासम्मको खण्डलाई दुई भागमा ठेक्का सम्झौता गरी काम भइरहेको छ ।

