

आईजीलाई विवादमा तान्न ‘प्रायोजित’ प्रोपोगान्डा !

नेपाल प्रहरीको ३० औं महानिरीक्षक (आईजी) हुन् बसन्त बहादुर कुँवर । १० चैतमा आईजी नियुक्त भएका कुँवर ३० वर्षे सेवावधीको प्रावधान कायम रहेमा ४ चैत २०८१ सम्म प्रहरी नेतृत्वमा रहनेछन् । कुँवर संगठनमा व्यवसायीक प्रहरी अधिकृतको रुपमा परिचित छन् ।
तर, आईजी भएको छोटो समयमै कुँवरमाथि कार्यकालको सुरुमै प्रायोजित प्रहार गरिन थालिएको छ । इमान्दार छविको पहिचान बनाएका कुँवर संगठनको नीति अनुरुप काम गरिरहँदा उनलाई नक्कली भुटानी शरणार्थी प्रकरणमा तानेर विवादमा ल्याउन खोजेपछि यतिबेला सबैको ध्यान त्यतै मोडिएको छ ।
कुँवरले उपत्यका अपराध अनुसन्धान कार्यालय, काठमाडौंको प्रमुख रहँदा नक्कली भुटानी शरणार्थी प्रकरणमा नाम जोडिएका बिचौलियाको पक्षमा काम गरेको आरोप लगाई उनी संलग्न हुनसक्ने ‘आशंका’ गरिएका समाचारहरु नियोजित रुपमा बाहिरिएका थिए । उक्त समाचारपछि हंगामा मच्चियो ।
नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धानपछि सर्वत्र प्रहरीको प्रशंसा भइरहँदा आईजी कुँवरलाई विवादमा तानेर संगठनकै बद्नाम भएको अधिकांश सिनियर प्रहरी अधिकृतहरु बताउँछन् । आन्तरिक विवाद र अस्वस्थ प्रतिस्पर्धाको कारण कुँवरलाई विवादमा तानिएको प्रहरी प्रधान कार्यालयको बुझाइ छ ।
तर, नियोजित र प्रायोजित रुपमा समाचार सम्प्रेषण भएपछि प्रहरी प्रधान कार्यालयले १० जेठमा एक विज्ञप्ति जारी नै गरेर गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । दुई पक्षबीच भएको कुराकानीमा आईजीको प्रसंग आएको आधारमा यसबारे समाचारमाध्यमलाई जानकारी गराएर आईजीपीको साख गिराउन खोजिएको जारी विज्ञप्तिमा उल्लेख छ ।
‘कुनै दुई व्यक्तिले गरेको संवादकै आधारमा शरणार्थी प्रकरणका आरोपितहरुबाट प्रहरी प्रमुख स्वयंले नै आर्थिक फाइदा लिएको भन्ने अतिशयोक्ति तथ्य स्थापित गर्न खोजी प्रहरी महानिरीक्षकलाई विवादमा तानिनु अत्यन्त निन्दनीय’ भएको केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक (डिआईजी) कुवेर कडायतले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
विज्ञप्तिमा कुनै आधार, तथ्य र प्रमाणविना अपराध अनुसन्धान जस्तो संवेदनशील विषयमा सम्प्रेषण गरिएको समाचारले जनमानसमा भ्रम सिर्जना हुनजाने भनिएको छ । त्यस्तै अर्को चिन्ताको विषय भएको प्रहरी संगठनकै विश्वनीयता, छवि तथा चेन अफ कमान्डमा समेत आँच आउनेछ ।
फौजी संगठन भनेको चेन अफ कमाण्डमा चल्ने संस्था हो । भइरहेको चेन अफ कमान्डलाई भत्काएर जथाभावी समाचारहरु आउन थालेपछि समग्र प्रहरी संगठनको कार्यसम्पादनमा नै ह्रास आउनसक्ने केन्द्रीय प्रवक्ता कडायतले अनलाइनन्यूज७ सँगको कुराकानीमा बताए ।
आन्तरिक सुशासन, भ्रष्टाचारमा शून्य सहनशीलता अपनाएका कुँवरले नक्कली भुटानी शरणार्थी प्रकरणमा राम्रो र प्रभावकारी काम गरेकै कारण उनलाई बद्नाम बनाउने नियतका आधारमा जालझेलपूर्ण प्रचारबाजीमा बिरोधी समूह सक्रिय भएको प्रधान कार्यालयको बुझाइ छ ।
‘कसैले नाम लिँदैमा आईजीलाई विवादमा तान्न खोजेर नकारात्मक प्रचारबाजी गर्नु भनेको संगठनकै बद्नाम र संगठनलाई कमजोर बनाउनु हो,’ एकजना प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) भन्छन्, ‘भ्रष्टाचारीहरुलाई एकपछि अर्को गरेर पक्राउ गरिरहँदा सुध्रिँदै गएको संगठनको छवि धुमिल पारी आईजीलाई बद्नाम बनाउने नियतका आधारमा प्रचारबाजी गर्नु राम्रो होइन ।’
प्रहरीभित्रै राजनीति गरी उनको कार्यकाललाई प्रभावित बनाउने व्यक्ति र समूहले गलत सूचना दिँदै कुँवरविरुद्ध नकरात्मक प्रचारबाजी गरिएको हो । बिग्रेको संगठन संरचनालाई लयमा ढाल्ने प्रयास गरेका कुँवरको कार्यसफलताबाट आत्तिएकाले गलत हल्ला फिजाउने काम गरेको अधिकांश प्रहरी अधिकृतहरुको बुझाइ छ ।
‘संगठनभित्र कुँवरलाई माइनस गर्दा आफू प्लसमा पुग्छु भन्ने गलत मनशाय भएका अधिकारीको कारण यस्ता समाचारहरु बाहिर आएको हुनसक्छ,’ आईजी सचिवालयमा कार्यरत एक अधिकृत भन्छन्, ‘सोहीअनुसार केही पत्रकार साथीहरुले बायस्ड भएर एकतर्फी समाचार लेख्नुभयो । आईजीले भुटानी शरणार्थी प्रकरणमा मुछिएका व्यक्तिबाट आर्थिक लाभ लिएको हुनसक्ने भनेर अफवाह फैलाउने कोशिस भयो । यसमा कुनै सत्यता छैन ।’
नक्कली भुटानी शरणार्थी प्रकरणमा आफ्नै पूर्वगृहमन्त्री बालकृष्ण खाण, पूर्वउपप्रधान तथा ऊर्जामन्त्री टोपबहादुर रायमाझी, बहालवाला सचिव टेकनारायण पाण्डेजस्ता ‘हाइप्रोफाइल’ व्यक्तिलाई पनि अनुसन्धानको दायरामा ल्याएपछि प्रहरी संगठनको चौतर्फी प्रसंसा भइरहेको छ । यतिसम्म कि प्रहरीको बिग्रको साख यो प्रकरणले उठाएको चर्चा समेत भएको छ ।
यसरी सर्वत्र प्रसंसा कमाएको प्रहरी संगठनलाई बिगार्ने षड्यन्त्र भइरहेको छ । यसमा आईजीसहित सिनियर उच्च प्रहरी अधिकृतहरुले बुझ्न जरुर छ । आईजीको नाम जोडिएपछि गृहमन्त्री नारायणकाजी श्रेष्ठले कुँवर र अन्य उच्च प्रहरी अधिकारीसँग बैठक नै बसी छलफल गर्नुपरेको थियो ।
बैठकमा गृहमन्त्री श्रेष्ठले आईजी कुँवरसहित उच्च अधिकारीबारे नक्कली भुटानी शरणार्थी प्रकरणको मिसिल कसरी बाहिरिएको भनेर चासो राखेका थिए । सँगै बाहिरिएकोबारे छानबिन गर्न निर्देशन समेत दिएका थिए । गृहमन्त्री श्रेष्ठसँगको छलफलपछि विवाद केही मत्थर भएको छ ।
नक्कली शरणार्थी प्रकरणमा आईजीको नाम मुछिनुले प्रहरीमा बढेको अस्वस्थ प्रतिस्पर्धालाई मानिएको छ ।

