

शरणार्थी प्रकरणका एक अभियुक्त सामूहिक बलात्कारमा समेत पक्राउ परेको खुलासा

काठमाडौं – नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न रहेको आरोपमा पक्राउ परेका एक अभियुक्त यसअघि पनि अन्य अपराधमा पक्राउ परेको खुलेको छ ।
नेपालीलाई नक्कली कागजात खडा गरी भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने प्रलोभनमा करोडौं रुपैयाँ ठगी प्रकरणमा पक्राउ परेका मुख्य बिचौलिया मध्येका एक सन्देश शर्मा पोखरेल यसअघि सामुहिक बलत्कार मुद्दामा पक्राउ परेको अनुसन्धानको क्रममा खुलेको जनाइएको छ । उनी ०७६ कात्तिक ३ गते सामुहिक बलत्कार अभियोगमा पक्राउ परि छुटेको खुलेको हो ।
नेपाल विद्यार्थी संघका नेता ज्ञानेन्द्र गजुरेलसहित उनलाई पक्राउ गरेको थियो । पछि युवतीलाई ६० लाख दिने प्रलोभनमा उनीहरुले बयान फेर्न लगाई छुटेका थिए । जुन मुद्दा अझै विचाराधीन रहेको छ ।
शरणार्थी प्रकरणको अनुसन्धान सकेर आज (आइतबार) प्रहरीले सरकारी वकिल कार्यालयमा रायसहितको प्रतिवेदन बुझाउँदैछ । कम्तीमा ३२ जनालाई प्रतिवादी बनाएर मुद्दा चलाउन लागिएको छ । मुद्दा चलाउन लागिएकामध्ये १६ जना पक्राउ परिसकेका छन् ।

