न्यायाधीश सिन्हाले सोधे – चुनाव भयो, दुईतिहाइ आएन भने फेरि विघटन गरिदिने ?


काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीका वकिलहरूको बहस सर्वोच्च अदालतको संवैधानिक इजलासमा जारी छ । प्रधानमन्त्रीका वकिलहरूले प्रतिनिधिसभा विघटनको पक्षमा बहस गरिरहेका छन् ।

बहसका क्रममा अधिवक्ता बाबुराम दाहालले प्रधानमन्त्रीले काम गर्न नपाएका कारण विघटन गरेको बताए । सरकार पार्टीले नभई प्रधानमन्त्रीले चलाउने उनको तर्क थियो ।

उनले नेपालमा चीनको जस्तो पार्टीले सरकार चलाउने व्यवस्था नभएको तर्क गर्दै विघटन संविधानसम्मत भएको बताए । त्यसपछि न्यायाधीश अनिलकुमार सिन्हाले सोधे, ‘चुनाव भयो, दुईतिहाइ आएन भने के हुन्छ ? फेरि विघटन गरिदिने ?’ जवाफमा दाहालले विघटन भन्नेबित्तिकै डराउन नपर्ने बताए ।

अधिवक्ता पंकज कर्णले पार्टीको आन्तरिक समस्याको समाधान निस्कँदैन भने संसदमा असर पर्ने बताए । संसदमा असर परेपछि सरकारमा असर पर्ने भन्दै संसद् विघटनबाहेक अर्को अवस्था नरहने जिकिर गरे ।

प्रतिक्रिया