

नागरिक उन्मुक्ति संसदीय दलको नेताबाट हटाइए रामेश्वर

काठमाडौं – नागरिक उन्मुक्ति पार्टी सुदूरपश्चिम प्रदेश संसदीय दलको नेताबाट रामेश्वर चौधरीलाई हटाइएको छ । आज संसदीय दलको कार्यालयमा बसेको बहुमत सदस्यहरूको बैठकले चौधरीलाई संसदीय दलको नेताबाट हटाउँदै घनश्याम चौधरीलाई जिम्मेवारी दिएको हाे । बैठकमा चौधरी भने उपस्थित थिएनन् ।
सात जना प्रदेश सभा सदस्य रहेको नागरिक उन्मुक्ति पार्टीमा चार जनाको हस्ताक्षरसहित संसदीय दलको नेता परिवर्तन गरेको सूचना प्रदेश सभा सचिवालयमा दिइएको छ ।
त्यस्तै, प्रमुख सचेतकको जिम्मेवारी खुसीराम चौधरीलाई दिइएको छ । यसअघि लक्ष्मण किशोर चौधरी प्रमुख समेतक थिए । सचेतकको जिम्मेवारी कैलाश चौधरीलाई दिइएको छ ।
संसदीय दलको नेतासहित अन्य जिम्मेवारी परिवर्तन गर्न बसेको बैठकमा लक्ष्मण किशोर चौधरी, धनश्याम चौधरी, खुसीराम चौधरी र कैलाश चौधरी उपस्थित थिए । इन्दिरा गिरी बैठकमा उपस्थित भएपनि हस्ताक्षर भने गरिनन् । त्यस्तै बैठकमा रामेश्वर चौधरी र टिका थापा भने उपस्थित थिएनन् ।

