बालकृष्ण खाँण पक्राउ प्रकरणः टोपबहादुरबाट ‘पाठ’ सिकेको प्रहरी !


काठमाडाैं – नक्कली भुटानी शरणार्थी प्रकरणमा उच्च पदस्थहरु पक्राउ पर्ने क्रम जारी रहेको छ । अहिलेसम्म १२ जना पक्राउ परिसकेको उक्त प्रकरणमा पछिल्ला उच्च पदस्थ बालकृष्ण खाँण पक्राउ परे ।

पूर्वगृहमन्त्री समेत रहेका खाँण बुधबार बिहान चुच्चेपाटीस्थित निवासबाटै पक्राउ परे । अनुसन्धानकै क्रममा रहेका बेला उनलाई प्रहरीले पक्राउ परेको हो । उनलाई पक्राउ गर्नुमा नेपाल प्रहरीले ‘फरार’ टोपबहादुरबाट पाठ सिकेको देखिएको छ । रायमाझीका बाबु–छोरालाई पक्राउ गर्नका लागि अदालतबाट आदेश लिइसकेको समाचार सञ्चारमाध्यमहरुमा प्रसारण एवं प्रकाशन भइसकेपछि फरार हुने मौका पाएका टोपबहादुर छोराको पक्राउपछि भने थप शंसकित हुँदै ‘भूमिगत’ हुन पुगे ।

पक्राउ पूर्जी लिइसकेको अवस्थामा प्रहरीहरुकै बीचबाट रायमाझी ‘फरार’ भएका थिए । उनी अर्घाखाँचीमै रहेका बखत प्रहरीको घेरामा देखिएको अवस्थामा त्यसपछि भैरहवासम्म आइपुग्दा पनि प्रहरीकै घेराभित्र थिए । त्यसपछि पक्राउ पूर्जी जारी भइसकेको ‘अपराधी’ को बोलीको विश्वासमा प्रहरीले उनलाई भैरहवाबाट नियन्त्रणमा लिएन । त्यसको फाइदा टोपबहादुरले काठमाडौं आउने क्रममा उठाए । प्रहरीको स्कर्टिङमा भैरहवाबाट काठमाडौं आउनेक्रममा उनी बिचबाटोबाटै ‘फरार’ भएको विभिन्न सञ्चारमाध्यमहरुले जनाएका छन् ।

प्रहरीले उनी चढेको गाडीका चालक र स्वकिय सचिव मात्र भेट्यो रे ? के नेपाल प्रहरीहरुले ती चालक र स्वकिय सचिवलाई टोपबहादुरको बारेमा सोधेन ? तिनीहरुले के भने ? त्यसको आधारमा पक्राउ गरिनु पर्दैनथ्यो ? कुनै पनि अपराधमा संलग्न अपराधीकै फोनको भरमा प्रहरीले टोपबहादुरप्रति किन विश्वास गर्यो ? त्यो प्रश्न प्रहरी संगठनलाई पनि उठ्नसक्छ । टोपबहादुरका छोरा सन्दीप रायमाझीलाई बुटवलबाट पक्रेर जहाजमार्फत् काठमाडौं ल्याएको प्रहरीले टोपबहादुरलाई पनि अर्घाखाँचीबाटै पक्राउ गरेर काठमाडौं ल्याएको भए केही हदसम्म भए पनि आलोचना खेप्नुपर्ने थिएन ।

हुन त, प्रहरीले टोपबहादुरकै घटनाबाट पाठ सिकेर अहिले बालकृष्ण खाँणलाई पक्राउ गरेको पनि हुनसक्छ । एउटा गल्तीबाट शिक्षा लिन सकिन्छ भन्ने उक्तिलाई वास्तविकता प्रमाणित गर्दै बालकृष्ण खाँण ‘फरार’ नहुन् भनेर प्रहरीले समयमै खाँणलाई नियन्त्रणमा लिएको हुनसक्छ । ढिलो चाँडो उनी पक्राउ नै पर्ने भएता पनि रायमाझी जस्तै फरार हुन्छन् कि भन्ने त्रासमा प्रहरी रहेर बेलैमा पक्राउ गरेको हुनसक्छ ।

खाँणसँगै उनका स्वकिय सचिव नरेन्द्र केसी पनि पक्राउ परेका छन् ।

यस प्रकरणमा खाँणपत्नी एवं सांसद मञ्जु खाँणको पनि संलग्नता देखिएको प्रहरीले आशंका गरेको छ । त्यसबाहेक पूर्वगृहमन्त्री रामबहादुर थापाकी श्रीमती नन्दकला थापा, कांग्रेस सभापति शेरबहादुर देउवापत्नी आरजु राणालगायतका धेरै उच्च पदस्थहरु पनि संलग्न रहेको भन्दै प्रहरीले अनुसन्धान गरिरहेको छ । अहिलेसम्म यस घटना अनुसन्धानका क्रममा पूर्व परराष्ट्रमन्त्री सुजाता कोइरालाका तत्कालिन स्वकिय सचिव, बहालवाला सचिवलगायत १२ जना पक्राउ परिसकेका छन् ।

प्रतिक्रिया