सर्वोच्च र निर्वाचन आयोगलाई सांकेतिक धम्की दिँदै प्रचण्डले भने– बालुवाटार र सिंहदरबार घेर्न नपरोस्


काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधि सभा विघटन र पार्टीको आधिकारिकताका विषयमा सर्वोच्च अदालत र निर्वाचन आयोगलाई सांकेतिक धम्की दिएका छन्।

बुधबार राजधानीमा गरेको विरोध सभालाई सम्बोधन गर्दै प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको कदमको आलोचनामा शव्द खर्चिएका थिए। सोही क्रममा संसद पुनःस्थापना हुने विश्वास जताएका उनले सर्वोच्च अदालतलाई सांकेतिक धम्की दिँदै भने,‘न्यायाधीशहरूले यो भिँड र सभा हेरुन्। दायाँ बायाँ भयो भने जनताले फैसला गर्नेछन्।’

उनले सभामा उपस्थित भएका मानिसको गलत तथ्यांक पेस गर्दै निर्वाचन आयोगलाई पनि सांकेतिक धम्की दिए। उनले आफ्नो विरोध सभामा ५ लाख मानिस उपस्थित भएको तथ्यांक प्रस्तुत गर्दै भने,‘केपी ओलीले निर्वाचन आयोगमा धम्की दिए भन्ने सुनेको छ। के हो? के हो? भन्ने छ। हामी पार्टीको आधिकारिकता दाबी गर्दै १० दिनमा नै पुगेका थियौं, हेक्का होस्। संवैधानिक आयोगका मानिसहरूले दायाँ बायाँ गर्लान्।’

उनले नेकपामा आफ्नो पक्षको आन्दोलनलाई कमजोर आँक्ने र भनेजस्तो नगरे बालुवाटार र सिंहदरबारमा लाखौं मानिसलाई उतार्ने चेतावनी दिए। उनले भने,‘१० औं लाख मानिसलाई ल्याएर बालुवाटार र सिंहदरबार घेर्न नपरोस्।’

प्रतिनिधि सभा पुनःस्थापना नभए संविधानको हत्या हुने बताएका उनले प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसलाई आन्दोलनमा आउनका लागि आह्वान गरे। हतोत्साही मुद्रामा सम्बोधन गरेका उनले भने,‘कांग्रेसका सभापति गिरीजाप्रसाद कोइरालाले शान्ति प्रक्रियामा हस्ताक्षर गर्नुभएको हो, सुशील कोइरालालाई संविधानका पिता मान्नुहुन्छ। ओलीविरुद्धको यो लडाईमा गोलबद्ध हुनुहोस्।’

विरोध र आन्दोलनमा उनले अन्तर्राष्ट्रिय समुदायको पनि साथ खोजेको सन्देश दिए। उनले भारततिर संकेत गर्दै भने,‘विश्वको सबैभन्दा ठूलो लोकतान्त्रिक मुलुक भन्ने छिमेकीले पनि बुझ्नुपर्छ, हामी लोकतन्त्रका लागि सडकमा छौं।’

त्यति लामो सम्बोधन नगरेका प्रचण्डले गृहमन्त्री रामबहादुर थापा बादलतिर लक्षित गर्दै भने,‘चिडियाखानामा हाल्छौं भन्नेहरूको दिमाग देखेर उदेक लाग्छ।’

प्रतिक्रिया