

‘चुनावको घोषणा गरेको सरकारले राजनीतिक नियुक्ति गरेर धज्जी उडायो’

नुवाकोट – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले संविधानविपरीत चुनावको घोषणा गर्ने सरकारले राजनीतिक नियुक्ति गरेर निष्पक्ष निर्वाचनको धज्जी उडाएको बताएका छन् ।
‘चुनावको घोषणासँगै एकातिर संविधानको उपेक्षा गर्ने अर्कोतर्फ विकासको नाममा सयौं राजनीतिक नियुक्ति गरेर सरकार आफैंले निर्वाचनको निष्पक्षतामाथि प्रश्न चिन्ह खडा गरीदिएको छ,’ राप्रपा अध्यक्ष लोहनीले पत्रकार भेटघाटको क्रममा भने ।
‘आफ्नै अक्षमताको कारण विकास खर्च कटौती गर्ने सरकारले बिना कुनै मापदण्ड तीन सयभन्दा बढी उपसचिव स्तरको राजनीतिक कार्यकर्ता भर्ती गर्नु गैरजिम्मेवारीको पराकाष्ठा हो । यस्ता क्रियाकलापलाई संवैधानिक अंगहरुले नियन्त्रण गर्न नसक्ने हो भने देश दुर्घटनामा पर्ने निश्चित छ,’ लोहनीले भने ।
गृह जिल्ला आएका राप्रपा अध्यक्ष लोहनीले भने, ‘आम निर्वाचनपछि जनताले सुशासन र गुणस्तरीय आर्थिक विकासको आशा गरेका थिए । त्यो आशा चकनाचुर भएको छ ।’

