
प्रहरीलाई गृहमन्त्रीको दरिलो साथ !
काठमाडौं – ४० वर्षअघि सुर्खेतबाट निर्वाचित बहालवाला माननीय राष्ट्रिय पञ्चायत सदस्य चन्द्रबहादुर बुढामगर गैरकानुनी रुपमा सुन भित्र्याएको अभियोगमा एयरपोर्टबाट पक्राउ परे । प्रधानमन्त्री लोकेन्द्र बहादुर चन्दको गुटका उनलाई छुटाउन प्रधानमन्त्रीमाथि तिब्र दबाब पर्यो ।
आफ्नै गुटको भएकाले धर्मसंकट उत्पन्न भयो । तर, प्रधानमन्त्री चन्दले गुटको दबाब र आफ्नो धर्मसंकटलाई औपचारिक र अनौपचारिक दुवै तयारमा स्पष्ट जवाफ दिए – ‘Law will take its own course’ मतलब कानुनले आफ्नो बाटो लिनुपर्छ । त्यसपछि प्रहरीले राम्रोसँग अनुसन्धान गर्न पायो ।
आज नेपाली नागरिकलाई नक्कली शरणार्थी बनाएर अमेरिका पठाउने नाममा उच्च तहका कर्मचारी र नेताहरु एकपछि अर्को गरी तानिरहेका छन् । प्रहरीले राम्रोसँग अनुसन्धान गर्न पाउने हुन कि होइनन् भनेर आशंका गर्ने धेरै ठाउँ छ । जसको कारण हो बहालवाला गृहमन्त्रीका सारथीहरु नै उक्त प्रकरणमा मुछिएका छन् ।
अनुसन्धानमा अब्बल मानिने नेपाल प्रहरीले सो प्रकरणमा हालसम्म ८ जनालाई पक्राउ गरी कानुनी दायरमा ल्याइसकेको अवस्था छ भने केही आरोपीहरु फरार छन् । फरार आरोपीहरु व्यापक मात्रामा खोजीकार्य भइरहेको प्रहरीको केन्द्रीय प्रवक्ता एवं नायब महानिरीक्षक (डिआईजी) कुबेर कडायतले जानकारी दिए ।
हालसम्म नक्कली शरणार्थीको नाममा ठगी गर्नेहरु तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राई, बहालवाला सचिव (तत्कालीन गृहसचिव) टेकनारायण पाण्डे, सन्दीप रायमाझी, केशव दुलाल, सानु भण्डारी, टंक गुरुङ, सन्देश शर्मा पोखरेल र सागर थुलुङ पक्राउ परेका छन् । प्रहरीका अनुसार उनीहरुमाथि थप सोधपुछ भइरहेको छ ।
त्यस्तै पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी समेत नक्कली शरणार्थी प्रकरणमा मुछिएका छन् । नेकपा एमालेका सचिव समेत रहेका रायमाझी बहालवला सांसद हुन् । उनी अघाँखाँचीबाट निर्वाचित प्रतिनिधिसभा सदस्य हुन् । पक्राउ पुर्जी जारी भएपछि उनी फरार छन् । रायमाझी हालका गृहमन्त्रीका साथी हुन् । तर, सोही घटनामा उनका छोरा सन्दीप भने पक्राउ परिसकेका छन् ।
त्यस्तै पूर्वगृहमन्त्री बालकृष्ण खाँण र उनकी पत्नी मञ्जु खाँणसमेत यो प्रकरणमा तानिने भएका छन् । पक्राउ परेका बहालवाला सचिव पाण्डेले बयानको क्रममा उनीहरुको नाम मुछेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । मञ्जुसमेत बहालवाला सांसद हुन् । यद्यपी, उनीहरुविरुद्ध अलिहेसम्म पक्राउ पुर्जी जारी भएको छैन । उनीहरुविरुद्ध पनि प्रहरीले पक्राउ पुर्जी लिनको लागि आवश्यक कागजपत्र तयार पार्दै गरेको स्रोत बताउँछ ।
त्यस्तै पूर्वगृहमन्त्री बादलका छोरा प्रतिक थापासमेत नक्कली शरणार्थी प्रकरणमा मुछिएका व्यक्ति हुन् । जतिबेला बादल गृहमन्त्री थिए, उक्त समयमा प्रतिकले गृहमन्त्रीका सुरक्षा सल्लाहकार राईका छोरासँग मिलेर काम गरेको प्रहरीको दाबी छ । सुरक्षा सल्लाहकार राई पक्राउ परिसकेका छन् भने प्रतिक फरार छन् ।
यसअघि जसले जे गरेपनि राजनीतिक हस्तक्षेपको कारण सबै कुरा गुपचुप राखिन्थ्यो । भित्रभित्रै मिलाएर करोडौं रुपैयाँको चलखेलको आधारमा प्रहरी समेत निरिह हुन्थ्यो । तर, पछिल्लो समय बहालवाला सचिव पक्राउ पर्नु, पूर्वगृहमन्त्रीका सुरक्षा सल्लाहकार पक्राउ पर्नु र रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी हुनुले विभिन्न प्रश्नहरु उब्जाएको छ ।
नेपालको परिवेशमा हत्तपत्त बहालवाला सांसदलाई प्रहरीले पक्राउ पुर्जी लिएर समात्ने आँट गर्दैन । सांसदमात्र नभएर बहालवाला सरकारी उच्चपदस्थ कर्मचारीलाई समेत पक्राउ पुर्जी लिन प्रहरीलाई हम्मे–हम्मे नै पर्छ । तर, यो कसरी सम्भव भयो ? यसबारे धेरैलाई थाहा नहुन सक्छ । त्यसैले प्रहरीलाई पक्राउ पुर्जी लिन र जसरी नि घटनामा संलग्नलाई पक्राउ गर्न निर्देशन दिने व्यक्तिको चर्चा गर्न आवश्यक छ ।
यतिबेला गृहमन्त्रालयको नेतृत्व गरिरहेका छन् नेकपा माओवादी केन्द्रका उपाध्यक्ष नारायणकाजी श्रेष्ठले । गृहमन्त्रीको जिम्मेवारीमा रहेका श्रेष्ठले नै नक्कली शरणार्थीको नाममा ठगी गर्ने गिरोहलाई नछाड्न प्रहरीलाई निर्देशन दिएका हुन् । गृहमन्त्री श्रेष्ठको निर्देशनअनुरुप नै प्रहरी नेतृत्वले काम गरिरहेको छ ।
नक्कली भुटानी शरणार्थी बनाएर ठगी गरेको प्रकरणमा कोही पनि दोषी उम्कन नहुने बताउँदै आएका गृहमन्त्री श्रेष्ठले आफूले प्रहरी प्रशासनलाई दोषी जति नै शक्तिशाली वा पहुँचवाला भए पनि नछोड्न निर्देशन दिएका छन् । गम्भीर प्रकृतिका घटनामा नेपाल प्रहरीलाई अनुसन्धानमा सघाउनुपर्ने गृहमन्त्री श्रेष्ठ बताउँछन् ।
उनले भने, ‘नक्कली शरणार्थीको नाममा जो–जो संलग्न देखिन्छन् सबै कानुनी दायरामा आउँछन् । यो मान्छे भीआईजी यो सामान्य भनेर कसैले छुट पाउँदैन । दोषी कोही पनि नउम्किऊन् तर निर्दोष कोही पनि नमुछिऊन् र उनीहरूको प्रतिष्ठामा आँच आउने काम नहोस् भनेर मैले निर्देशन दिएको छु । त्यहि भएर नेपाल प्रहरीले पनि राम्रोसँग काम गरेको महसुस भएको छ ।’
हुनपनि हो, गृहमन्त्री श्रेष्ठको दरिलो साथले गर्दा नेपाल प्रहरीलाई समेत अनुसन्धानमा सफलता मिलेको छ । प्रवक्ता कडायतले गृहमन्त्रीज्यूको सशक्त आँट र भरोषाको कारण नक्कली शरणार्थी प्रकरणमा अनुसन्धानमा प्रहरीलाई सफलता मिलेको स्वीकार्छन् ।
कानुन सम्बत कुरामा गृहमन्त्रीले कुनै पनि अनुसन्धानमा नचुक्न र नझुक्न निर्देशन दिएको दाबी गर्दै प्रवक्ता कडायतले भने, ‘प्रहरी प्रधान कार्यालय निरीक्षणको क्रममा नै उहाँले यस विषयलाई राम्रोसँग बुझेर अनुसन्धान गर्नु भन्नुभएको थियो । चिफसा’पले सोहीअनुरुप मातहतका युनिटलाई निर्देशन दिएपछि अनुसन्धान प्रक्रिया अघि बढेको हो ।’
उक्त घटनामा पूर्व उपप्रधान, गृहमन्त्रीदेखि पूर्वगृहसचिवको संलग्नता रहेको खुलिसकेको छ । जसले गर्दा उच्च तहका कर्मचारी र नेताहरुलाई जोगाउने चलखेल समेत हुन थालेको चर्चा छ । तर गृहमन्त्री श्रेष्ठले कुनै पनि हालतमा कसैलाई नछाड्न र पक्राउ पुर्जी जारी भएकालाई पक्रन प्रहरी नेतृत्वलाई निर्देशन दिएका छन् ।
नक्कली शरणार्थी बनाएर अमेरिका पठाउन खोज्ने कार्यमा संलग्न व्यक्तिहरु जो–जो छन् उनीहरु सबैलाई पक्राउ गरिने जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रमुख बरिष्ठ उपरीक्षक (एसएसपी) दानबहादुर कार्कीले बताए । उनले भने, ‘पक्राउ पुर्जी जारी भएका व्यक्तिहरु जो–जो सम्पर्कविहीन भएका छन् उनीहरुको खोजी तथा अनुसन्धानमा विशेष सावधानीका साथ प्रहरी टोली परिचालन गरिएको छ ।’
नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न सबैलाई कारबाही गर्ने कुरा प्रशंसायोग्य हो । सरकारले नक्कली शरणार्थी प्रकरणमा संलग्न रहेका व्यक्तिहरुलाई कानुनी दायरमा ल्याइरहँदा त्यससँगै नक्कली लडाकु, बालुवाटारस्थित ललिता निवासको जग्गा हिनामिना प्रकरण र वाइडबडी प्रकरणमा समेत छानबिन गर्नुपर्ने आवाज उठेको छ ।
गृहमन्त्री श्रेष्ठले अन्य प्रकरणका दोषीलाई पनि छाड्न नहुने अधिकांश नेता/कार्यकर्ताहरुको माग छ । एमाले, कांग्रेस, माओवादी जुनसुकै दलको आडमा लागेका भए पनि सबै दोषीलाई कारबाही गर्ने आँट निकाले श्रेष्ठको चर्चा झनै चुलिने चर्चित अधिवक्ता ओमप्रकाश अर्याल बताउँछन् ।
नक्कली शरणार्थी प्रकरणमा संलग्न व्यक्तिहरु धमाधम पक्राउ पर्न थालेपछि गृहमन्त्री श्रेष्ठको सकारात्मक तबरमा चर्चा हुन थालेको छ । बरिष्ठ अधिवक्ता अर्यालले नक्कली भुटानी शरणार्थी प्रकरणमा एकदम दरिलोका साथ खुट्टा टेक्नुभयो भने नेपाली जनताले गृहमन्त्री श्रेष्ठलाई हृदयदेखि ‘स्यालुट’ गर्ने बताए ।
‘तत्कालीन गृहमन्त्री रामबहादुर थापाको वरिपरि रहने गिरोहले संगठित रुपमा असुली धन्दा चलाएको त्यतिखेरै थाहा भएको विषय हो नि । तर त्यसमा कसैले हात हाल्न सकेका थिएनन् । अहिले गृहमन्त्री श्रेष्ठले अनुसन्धान गर्न प्रहरीलाई निर्देशन दिनुभएको छ । सोअनुरुप काम भएको केही नतिजा सार्वजनिक भएको छ । यसले राम्रो म्यासेज गएको छ,’ उनले भने ।
उनले एक अर्बभन्दा बढी ठगी प्रकरणको अनुसन्धान प्रहरीले गरेको भए पनि गृहमन्त्री श्रेष्ठलाई त्यसको ‘क्रेडिट’ जाने पनि औंल्याए । अर्यालले भने, ‘गृहमन्त्रीलाई अरुलाई भन्दा बढी शंकाको सुविधा छ । प्रहरी प्रशासनले हेर्ने कुराको क्रेडिट गृहमन्त्रीलाई जान्छ । उहाँले आफ्नो जिम्मेवारी र जवाफदेहिता दृढतापूर्वक पूरा गर्नुपर्छ । हामीले यस्तै खोजेको हो नि ।’
०००
उक्त घटनामा हालसम्म एक सय छ जनाले २० जाहेरी दिएका छन् । उनीहरूले कूल रु २३ करोड २५ लाख ठगी भएको भनी जाहेरी दिएका छन् । सुरुमा पीडितले काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयमा जाहेरी दिएकामा कार्यालयले केहीलाई पक्राउ गरी थप कारबाहीका लागि जिल्ला प्रहरी परिसरलाई बुझाएको थियो ।
सरकारले आरोप लागेकाहरूमाथि ‘ठगी तथा संगठित अपराध’मा मुद्दा चलाउने गरी कारबाही अघि बढाएको अनुसन्धान अधिकारीहरूले बताए । जसमा प्रहरीले ६० दिनसम्म थुनामा राखेर अनुसन्धान गर्न पाउँछ । तर, भीभीआईपी भएकै कारण छिटो मुद्दा बुझाउन दबाब दिन थालिएको परिसरका एक अधिकृत बताउँछन् ।



सुजन पन्त |
