सचिव पाण्डेको विडम्बनाः ठीक एक वर्षअघि दुई आईजीलाई दर्ज्यानी चिन्ह, अहिले आफ्नै हातमा हत्कडी !

कतिपय ‘राजा’हरूले राजकाजमा रजगज गरेकै कारण ‘युवराज’हरु पनि परेका छन्


काठमाडौं – शायद टेक नारायण पाण्डेले सोचेका थिएनन् होला ठीक एक वर्ष अगाडि आफैंले संगठन प्रमुख छानेका व्यक्तिको संगठनबाट आफूले एक वर्षपछाडि हत्कडी लगाउनुपर्छ भन्ने ।

ठीक एक वर्ष अघि अर्थात् २०७९ वैशाख १९ गते मुलुककै सबैभन्दा बलियो संगठन नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका संगठन प्रमुखहरुलाई एकैदिन दर्ज्र्यानी चिन्ह लगाउने सौभाग्य पाएका गृहसचिव पाण्डेले एक वर्ष वितेकै दिन २०८० साल वैशाख २० गते आफूले हत्कडी लगाउनु पर्यो ।

विधिको विडम्बना जस्तै भयो, कुनै बेला आफैंले हाँकेको संगठनका अधिकारीहरु हत्कडी लिएर आफैंलाई आउँछन् भन्ने पाण्डेले पक्कै सोचेका थिएनन् तर, नियम कानुन र क्षणिक लोभले लाप हुँदै बिलापमा पुगेका छन् सचिव पाण्डे । भुटानी शरणार्थी प्रकरणमा छानबिन हुन सुरु भएपछि सुरुदेखि नै त्रासमा रहेका पाण्डे पछिल्लो समय आफ्नो निजी निवास छाडेर रिसोर्टमा बस्न थालेको पनि जनाइएको छ । यसबाट उनी दोषी हुन् भन्ने कुराको पुष्टी उनी आफैंले गरेका छन् ।

त्यतिमात्र नभएर कतिपय ‘राजा’हरुको राजकाजमा रजगज गरेकै कारण ‘युवराज’हरु पनि परेका छन् । त्यसको प्रमाणस्वरुप टोपबहादुर रायमाझीका छोरा सन्दीप रायमाझी र पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका छोरा प्रतीक थापालाई लिन सकिन्छ ।

त्यसबाहेक यस प्रकरणमा पूर्वगृहमन्त्रीकै सल्लाहकार समेत  पक्राउ परेका छन् । द्वन्द्वविद् समेत रहेका इन्द्रजित राईलाई पनि प्रहरीले यसअघि नै पक्राउ गरिसकेको छ । उनका साथै उनका छोराका नाममा पनि पक्राउ पूर्जी बनिसकेको छ । तर, पक्राउ परेका राईले भने अहिले बयानका क्रममा इन्कारी बयान दिइरहेको प्रहरी स्रोतले जनाएपनि प्रहरीले कमजोर प्रमाणका आधारमा मात्रै पक्कै ‘ठूला माछा’हरुलाई पक्राउ गरेको छैन ।

नक्कली भुटानी शरणार्थी बनाई अमेरिका पठाउने गिरोहको खोजी भईरहेका बेला अहिले ‘ठूला माछाहरु’ त्रसित बनेका छन् । कर्मचारीदेखि लिएर राजनीतिज्ञहरु मुछिएका छन् । बहालवाला सचिवदेखि पूर्वमन्त्रीसम्म पक्राउ परिसकेका छन् ।

त्यतिमात्र नभएर कतिपय ‘राजा’हरुको राजकाजमा रजगज गरेकै कारण ‘युवराज’हरु पनि परेका छन् । त्यसको प्रमाणस्वरुप टोपबहादुर रायमाझीका छोरा सन्दीप रायमाझी र पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका छोरा प्रतीक थापालाई लिन सकिन्छ ।

भुटानी शरणार्थी प्रकरणमा पूर्वमन्त्री सुजाता कोइरालाका पिएदेखि लिएर अहिलेसम्म ९ जना पक्राउ परिसकेका छन् । ती प्रायः ‘ठूला माछा’ नै परेका छन् ।

यसैगरी प्रहरीले खुट्टा नकमाईकन ‘अपरेशन’मा लाग्यो भने अझै कति ‘माछा’हरु पक्राउ पर्ने हुन् त्यसको अनुमान मात्रै गर्न सकिन्छ । प्रहरीले प्रमाण पुगेकै आधारमा पक्राउ गरेको भन्ने अभिव्यक्ति दिएका हुनाले अहिलेसम्म पक्राउ परेकाहरु निर्दोष छन् भन्ने कल्पना आम जनताले गरेका छैनन् । मात्र जनतामा आशा छ, बाँकी रहेका सबै पक्राउ परुन्, त्यसका लागि प्रहरीले खुट्टा नकमाओस् ।

कतिपय सञ्चारमाध्यममा देखिएका सम्भावित ‘पात्र’हरुको नाम देख्दा नेपालको कुनै पनि निकाय चोखो रहेनछ भन्ने प्रष्ट भएको छ । ‘पाप धुरीबाट कराउँछ’ भन्ने उखानलाई काण्डमा सहभागि भनिएका मानिसहरुले छिटै पुष्टी गरिदिएका छन् ।

प्रतिक्रिया